साउन १९ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीबीच मतदाता नामावलीमा छुटेकाहरूलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल भएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका अध्यक्ष दाहालले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले गरेको कामप्रति खुसी व्यक्त गरे ।

भेटवार्तामा प्रमुख आयुक्त उप्रेतीले आयोगले गरेका काम कारवाहीको विषयमा अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । पछिल्ला दिनमा मधेसवादी दलहरूले मतदाता नामावलीमा धेरै नागरिक छुटेको भन्दै नामावली सङ्कलनको म्याद बढाउन आग्रह गरिरहेका छन् ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर काम अगाडि बढाइसकेको सन्दर्भमा पुनः नामावली सङ्कलनको काम अगाडि बढाएमा मङ्सिर ४ गते निर्वाचन गराउन नसक्ने र समय अपुग हुने बताउँदै आएको छ । आयोगले हिजो बिहीबार मात्रै निर्वाचनको समय तालिका सार्वजनिक गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।