साउन १७ । आगामी भदौ १ देखि ९ गतेसम्म सिङ्गापुरमा आयोजना हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।
आज आयोजित बिदाई समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सफलताका शुभकामना व्यक्त गर्दे टोलीको बिदाई गरे ।
नेपाली टोलीले भोलिदेखि यही साउन ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलेपछि उतैबाट सिङ्गापुर प्रस्थान गर्ने छ ।
पचास ओभरमा सञ्चालन हुने खेलको टोली कप्तानमा पारस खड्का रहेका छन् भने उप–कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । अन्य खेलाडीमा शरद भेषावकर, अविनाश कर्ण, प्रिथु बाँस्कोटा, शक्ति गौचन, राहुल विश्वकर्मा, वसन्त रेग्मी, रामनरेश गिरी, प्रदीप ऐरी, सागर पुन, विनोद भण्डारी, चन्द्र साउद र अनिल मण्डल रहेका छन् ।
त्यसैगरी चार वैकल्पिक खेलाडीमा अमृत भट्टराई, संजम रेग्मी, नरेश बुढाऐर र महेश क्षेत्री रहेका छन् । टोली व्यवस्थापकमा नरेश श्रेष्ठ रहेका छन् भने सहायक व्यवस्थापकमा अनुप थापा रहेका छन् । त्यसैगरी टोलीलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षक पुबुदु दाशानायके पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा परेका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, युएई र आयोजक राष्ट्र सिङ्गापुर रहेका छन् ।
श्रीलङ्का सँगको अभ्यास खेलले आफूहरूको खेल प्रदर्शनीमा निखारता ल्याउने उल्लेख गर्दै कप्तान पारस खड्काले इमिर्जिङ कप क्रिकेट प्रतियोगिताले विश्व कप जित्न मद्दत पुग्ने बताए ।
प्रशिक्षक पुबुदु दाशानायकेले यस प्रतियोगितालाई विश्व कप जित्न आफूहरूमा भएका कमी कमजोरी थाहापाउने र त्यसलाई सुधार गर्दै जाने अवसरमा रुपमा लिएको बताए ।