
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सोमबार प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको संयोजकत्वमा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, प्रहरी परिसरका प्रहरी उपरीक्षक दिलीप चौधरी, पशु सेवा कार्यालय, कुखुरापालन व्यवसायी सङ्घका प्रतिनिधिहरूसहितको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि प्रजिअ दवाडीको निर्देशनमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक चौधरीले सोमबार नै भक्तपुरको पश्चिमतर्फ मनोहरा पुल, पेप्सीकोलाबाट सानोथिमी छिर्ने नाका, पूर्वमा काभ्रे जाने साँगा नाका, जगाते, ताथली हँुदै काभ्रेको नाला जाने नाका र प्रहरीका सबै वृत्त, प्रहरी प्रभाग, इकाइले पंक्षी र पंक्षीजन्य पदार्थ ओसारसपारमा रोक लगाएको छ ।
प्रहरीले आजैदेखि मुख्यमुख्य नाकामा छुट्टै प्रहरी पोष्ट नै राखेर २४ सै घण्टा निगरानीमा राखेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।
मरेका कुखुरा बोरामा हालेर जथाभावी सडक वरपर फालेको पाइएपछि यस्ता कार्यलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयमा आजै बसेको बैठकले रु १० हजार जरिवाना र कारबाही गर्ने निर्णय गरेको छ । कसैले यसरी रोग लागेको र मरेको कुखुरा जथाभावी फालेमा त्यस्ता कार्यमा संलग्नलाई रु १० हजार रूपैयाँ जरिवाना गरिने र जरिवाना गरिएको आधा रकम त्यसको जानकारी दिनेलाई पुरस्कारस्वरूप दिइने प्रजिअ दवाडीले बताए ।
पशु सेवा कार्यालयका प्रमुख खगेन्द्र भट्टले कुखुरा फार्ममा अनुगमन एवम् सर्वेक्षण गर्न जाँदा कुखुरापालन व्यवसायीले अनुगमन गर्न नदिने, कुखुरा मर्न थालेपनि सबै ठीक छ भनेर ढाँट्ने गरेकाले समस्या आएको बताए । रासस