सेनाले अपदस्थ गरेपछि उहाँको दलका कार्यकर्ताहरूले राजधानीलगायतका स्थानमा व्यापक मात्रामा प्रदर्शन गरिरेहका छन् र पछिल्लो समयमा आएर उहाँको रिहाइका लागि सो दबाब दिन थालिएको छ ।
गत सोमबारदेखि मोर्सीको दल मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले मोर्सीको रिहाइका लागि माग गर्दै प्रदर्शन गर्न थालेका हुन् । सो प्रदर्शनका क्रममा मङ्गलबार १३ जनाको ज्यान गएको छ । साथै उक्त प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा अन्तर्राष्ट्रिय दबाब पनि बढ्न थालेको छ । विश्वका विभिन्न देशले इजिप्टमा पनि हालैका दिनमा हिंसा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
उता इजिप्टको सेनाका विरुद्धमा मङ्गलबार नै इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीका परिवारका सदस्यहरुले मुद्दा दिएका छन् । उनीहरुले मोर्सीको रिहाइका लागि सेनाका विरुद्ध मुद्दा दिएका हुन् ।
उनीहरुले सेनाले संविधान सभाबाट निर्वाचित पूर्व राष्ट्रपतिलाई अपहरण गरेको भन्दै सरकारसमक्ष उजुरी दिएका छन् । मोर्सीको दलले गर्दै आएको सो आन्दोलन नियन्त्रणको प्रयास सेनाले गर्दैआएको छ ।
सो दलले इजिप्टमा हाल सैनिक ‘कु’ भएको बताएको छ । निर्वाचनबाट निर्वाचित राष्ट्रपतिलाई हटाउनु गैरकानुनी भएको भन्दै उहाँको पुनःस्थापनाको माग पनि सो दलले गरेको छ ।
हाल त्यहाँका प्रधानन्यायाधीशलाई अन्तरिम राष्ट्रपतिको जिम्मा दिइएको छ । इजिप्टका अन्तरिम राष्ट्रपतिले यो पछिल्लो समाधानको उपायस्वरूप निर्वाचनको घोषणा गरेको भए पनि विपक्षी दलका कार्यकर्ताहरूले प्रदर्शन गर्न भने छोडेका छैनन् ।