साउन ६ । लगातार परेको पानीले पहिरो आई घर बगाउँदा मुगुका छ घरधुरीका ३७ सदस्य विस्थापित भएका छन् ।
जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिनको पैदल दूरीमा पुगिने सोरुभेगस्थित भीइ गाविस–९ भीइ गाउँमा रहेका मन बुमी, पुन्न वुमी, मङ्गल वुमी, उम्मेर वुमी, दलबहादुर बुमी र वीर बुमीका घर शुक्रबारदेखि लगातार परेको पानीले शनिबार दिउँसो १२ बजे बस्ती रहेको ठाउँभन्दा माथिबाट आएको पहिरोले बगाएको हो ।
पहिरो दिउँसो आएकाले मानवीय र वस्तुभाउको क्षति नभएपनि अन्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सम्पत्ति केही नरहेको जनाइएको छ ।
विस्थापित परिवार आफन्त र छिमेकीको आश्रय लिएर बसिरहेका सोरुकोट प्रहरी चौकीका प्रमुख मङ्गलसिं चौधरीले बताए ।
घटनास्थल सदरमुकामदेखि टाढा भएकाले पीडितलाई उद्धार र राहतका लागि कसैले पनि पहल गरेको छैन ।