साउन ४  । अफगानिस्तानमा तालिवानविरुद्ध अफगान सैनिक, प्रहरी र नेटोसँग आवद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा ३२ तालिवान लडाकूको मृत्यु भएको छ ।

संयुक्त सेनाले हिजोदेखि सुरु गरेको कारबाहीमा परी शुक्रबार बिहानसम्म कम्तीमा पनि ३२ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालय जनाएको छ ।
   
गत २४ घण्टाभित्र अफगानिस्तानको बाघलान, कुन्दुज, बाल्ख, लोगार, हेलमान्ड, र कान्दाहार प्रान्तमा ती सेनाले उक्त कारबाही गरेका पनि सो मन्त्रालयले जनाएको छ ।

यस वर्षको जनवरीदेखि मध्य जुनसम्म तालिवान आतङ्ककारीहरुले जारी राखेका हत्या हिंसामा दुई हजार ५०० अफगान नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले हालै जनाएको छ ।

हिजो मात्र पनि अफगानिस्तानको एक ग्रामीण क्षेत्रका आठजना कामदार काममा गइरहेका बेला तालिवान हतियारधारीहरूले गोलीहानी हत्या गरेका थिए ।

बिहीबार बिहान काममा गइरहेका ती मजदुरलाई बाटोमै कुरेर बसेका तालिबान हतियारधारीहरूले गोलीहानी हत्या गरेका समाचारमा जनाइएको थियो  ।

अफगानिस्तानका राजधानी काबुलबाट दक्षिणतर्फ रहेको नेटो सैनिकको एक शिविरमा कार्यरत ती मजदुरलाई हिजो बिहान सो काममा जान लागिरहेका बेला तालिबानहरूले हत्या गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंँदै गर्दा तालिवान विरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि बताइएको छ ।

सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा सो सैन्य समूहमा संलग्न रहेका सबै देशले यसअघि नै गरिसकेका छन् । तर हालैका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाँ शान्तिको आशा कमै मात्र देखिन्छ । रासससिन्ह्वा
–––––

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।