साउन ३ । सिरहाको नगरोन्मुख रामनगर मिर्चैया गाविस–२ मा गएराति स्थानीय एक कपडा व्यापारीको हत्या भएको छ ।
मिर्चैया बजारमा गुरुशरण बस्त्रालय नामको कपडा पसल सञ्चालन गरिरहेका करिब ४५ वर्षीय गुरुशरण साहको सुतेकै ठाउँमा अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार राति खाना खाएर घरको तल्लो कोठामा एक्लै सुतिरहेका साहको राति ११:३० बजेतिर बत्ती नभएको समयमा हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि कान्छी श्रीमती चन्द्रदेवी साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक थपलियाले बताए । दुइटी श्रीमती रहेका साहकी जेठी श्रीमती गाउँमै रहने भएकाले उनी कान्छी श्रीमतीसँगै मिर्चैया बजारमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार साहको शव भेटिएको कोठाको पल्लो कोठामा जेठी छोरी र छोरा सुतेका थिए । मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस