साउन ३ । शरीरमा रगत निर्माण नहुने (हाईपोपलास्टिक एनीमिया) रोगबाट थलिएकी म्याग्दीकी एक युवतीको उपचारका लागि रु ३८ लाख सङ्कलन भएको छ ।

सिंगा गाविस– १ की ओमकुमारी (शान्ति) पुनको उपचारका लागि गठन गरिएको समितिको ग्लोबल आइएमइ बैंकको ४८०७०१००००११४९ नम्बरको खातामा सो रकम जम्मा भएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण चार वर्षदेखि महँगो प्रविधिको बोनम्यारो प्रत्यारोपण गर्न नसकेकी पुनको सहयोगका लागि गत वैशाखमा बेनीमा एक समिति गठन गरिएको थियो ।

ओमकुमारी (शान्ति) उपचार सहयोग समितिका संयोजक चन्द्रकुमार केसीले सामाजिक सञ्जाल फेसबुकको प्रयोगका साथै घरदैलो र भेटघाट कार्यक्रम गरेर हालसम्म स्वदेश तथा विदेशमा रहेकाहरूबाट दुई महिनाको अवधिमा ३८ लाख रूपैया सङ्कलन भएको जानकारी दिए ।

“रोगले शिथिल भएकी पुनको तस्बिरसहितको अपिल तयार पारेर फेसबुकमार्फत देशविदेशमा रहेका म्याग्देलीहरूसँग सहयोगको आह्वान गरिएपछि सबैबाट सक्रिय सहयोग भयो” संयोजक केसीले भने ।

सहयोग अभियानमा सबैभन्दा बढी सदरमुकाम बेनीबाट रु आठ लाख बाहेक, बेलायतबाट मोना युके मार्फत रु चार लाख १६ हजार, दोहा कतारबाट रु चार लाख चार हजार, हङकङबाट रु दुई लाख ३४ हजार, इराकबाट रु ७९ हजार, फिनल्याण्डबाट रु ५३ हजार, डेनमार्कबाट रु ३९ हजारसँगै पोखरा र काठमाडौँमा रहेका म्याग्दी संबद्ध संस्थामार्फत रु पाँच लाख सहयोग भएको समितिका सचिव राजकुमार थापाले बताए ।

सहयोग जुटेपछि बिरामी पुनको काठमाडौँको निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपणको तयारी भएको उनका दाजु लोकेश पुनले बताए । अस्पतालले १५ दिन पछि उनलाई बोलाएको र उनको उपचारका लागि रु २५ लाख खर्च हुने अस्पतालले जनाएको छ ।

अन्य स्थानमा पनि सङ्कलन भएको रकम प्राप्त हुने क्रम जारी रहेकाले उपचारबाट बचेको रकम अरूको सहयोगका लागि सामाजिक कोष स्थापना गर्ने समितिका कोषाध्यक्ष हरिकृष्ण गौतमले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।