साउन २ । वैदेशिक रोजगारीका एउटा राम्रो देश मानिएको संयुक्त राज्य अरब इमिरेट्स (युएई) मा नेपाली कामदारको वार्षिक ७८ करोड ७५ लाख बच्ने भएको छ ।
युएईका कम्पनीहरूले आफ्नो कम्पनीमा कार्यरत कामदारको अस्थायी बसोबास अर्थात् राष्ट्रिय परिचय–पत्र इमिरेट्स आईडी बनाउँदा लाग्ने खर्च आफैंले बेहोर्न सुरु गरेपछि नेपालीहरुको उक्त रकम बच्ने भएको हो ।
यूएईका राजा सेख महमदले सन् २०१३ देखि आफ्नो देशमा कार्यरत कामदारले आईडी बनाउँदा व्यक्तिगत रूपमा बेहोर्दै आएको वार्षिक एक सय ४० दिराम कामदारले नभई कार्यरत कम्पनी स्वयंले नै बेहोर्नुपर्ने घोषणा गरेपछि यस्तो हुन गएको हो ।
राजा सेखले सन् २०१३ को सुरुदेखि नै कामदारलाई यस्तो रकम भुक्तान गर्न नलगाउन र कम्पनी स्वयंले बेहोर्न निर्देशन दिए पनि हाल आएर मात्र कार्यान्वयनमा आएको हो ।
कम्पनीहरूले सो रकम बेहोर्न थालेपछि कामका लागि विभिन्न मुलुकबाट युएई आएकाहरू प्रत्यक्ष लाभान्वित भएका छन्।