नेपालवाणी नेटवर्कको समन्वयनमा एचडिएनपीले बालबालिकाका लागि चामल र लत्ताकपडा सहयोग गरेको हो । पुर्नबल प्लसमा रहेका बालबालिकाहरूलाई खाना र कपडाको समस्या भएको विषयमा नेपालवाणी नेटवर्कले खोजी नीति गर्दा एचडिएनपी (हेल्प फर डिस्परेट एन्ड निडी पिपुल) सँग सम्पर्क भएपछि सहयोगको संयोग जुरेको एचडिएनपीका सल्लाहकार जनक रानाले बताए ।
एचडिएनपी नामक संस्था गैरनाफामुखी विश्वव्यापी संस्था भएकाले आगामी दिनमा थप सहयोग प्रदान गर्ने रानाले प्रतिबद्धता जनाए । अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको एचडिएनपी नामक संस्थाले पिछडिएका मानिसलाई शिक्षा, आधारभूत स्वास्थ्य सेवालगायत क्षेत्रमा सहयोग गर्ने गर्दछ ।
एचआइभी संक्रमित बालबालिकाहरूलाई आश्रय दिँदै आएको पुनर्बल प्लसकी सचिव अप्सरा कार्कीले बालबालिकाहरूलाई खाना र खाजामा समस्या हुँदै आएको बताए । उनले अरू पनि धेरै बालबालिका आफ्नो आश्रयमा आउन खोजे पनि पाल्न सक्ने अवस्था नरहेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाहरूको महासंघकी महासचिव मिरा कुँवरले मुलुकभरमा एचआइभी संक्रमित बालबालिका झन्डै ४३ सय रहेको जानकारी दिए ।