असार २७ । नेपालको राजनीतिक अवस्था भद्रगोल छ अहिले । यही भद्रगोल अवस्था हटाउन भन्दै प्रमुख भनिएका चार राजनीतिक शक्तिहरु आपसी विवादका बीच पनि चुनाव गराउनुपर्छ भनेर कस्सिएका छन् भने विपक्षीहरु भने फेरि निर्वाचन गराए पनि पहिलेकै जस्तै आउने भन्दै सबै दलहरु मिलेर समस्या समाधान गरेर मात्रै चुनाव गराउनुपर्छ भनिरहेका छन् । अझ विपक्षीहरुको माग त दलिय सरकारले मात्रै निर्वाचन गराउन सक्ने र गोलमेच सम्मेलनबाट समस्याको निकास खोज्नुपर्ने छ ।

सारमा हेर्दा एक पक्ष संविधानसभाबाट निकास भनिरहेको छ भने अर्को पक्ष त्यसले निकास दिन नसक्ने भन्दै अलिक फरक ढंगबाट निकास खोजिनुपर्नेमा छ । अतः दुवै पक्षको कुरा मंसिरमा चुनाव गराउने या नगराउनेमै छ ।

यस्तै अवस्थामा पूर्व प्रमुख निर्वाचन आयूक्त भोजराज पोखरेलले भने मंसिरमा चुनाव नहुने देखेका छन् ।

रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा पोखरेलले सरकार र दलहरुको कारणले मंसिर ४ गतेको संविधानसभाको दोस्रो निर्वाचन असम्भव भएको सार्वजनिक रुपमै बताए ।

कार्यक्रममा पोखरेलले पुरानै पात्र, नियम र खेलाडीहरु विद्यमान रहेकोले खेलको नयाँ नियममा परिवर्तन नभएसम्म संविधानसभाको निर्वाचन र त्यसबाट संविधान बन्न असम्भव जिकिर समेत गरे ।

सरकार र दलहरुको अहिलेसम्मको काम कारवाही हेर्दा त्यो समयमा काम हुने सम्भावना देखिदैन कार्यक्रममा उनले भने- ‘पहिला गोलमेच सम्मेलन गर्नु पर्यो त्यसपछि सहमितको व्यवस्थापन, त्यसलाई कार्यान्वयन गर्न नियम कानूनको निर्माण र पुन दल दर्ताको काम ४५ दिन भित्र नसकिए निर्वाचन हुन सक्दैन ।’

पूर्व निर्वाचन आयुक्त पोखरेलले सबै दलहरुले बाहिर मंसिर निर्वाचन भनेपनि आन्तरिक रुपमा चैतमा गर्नेमा उनीहरु रहेको समेत खुलासा गरे । निर्वाचन आयोग समेत अहिलेसम्म निर्वाचन गराउन सक्षम भएको जस्तो नदेखिएको उनको भनाई छ ।

निर्वाचनको लागि जनता तयार भए पनि दल, सरकार र निर्वाचन आयोग तयार हुनुपर्ने भन्दै उनले जनगणना अनुसार ३४ लाख मतदाता मतदाता नामावलीमा छुटेको, क्षेत्र निर्धारण आयोगलाई दिईको जिम्मेवारीमा नियम बाझिएको, दलहरुको संख्या साउनभित्र निश्चित हुनु पर्ने जस्ता समस्या विद्यमान रहेको औल्याईदिए ।

सार्वजनिक रुपमा खासै चर्को र विवादित कुरा नगर्ने पोखरेलले आज भनेको कुरा भने निक्कै महत्वपूर्ण रहेको छ । पूर्व निर्वाचन आयुक्त समेत रहेका उनले निर्वाचन आयोग र दलहरुमाथि नै प्रश्न चिह्न खडा हुने गरी यस्तो अभिव्यक्ति दिनुले निर्वाचन आयोग तथा दलहरु कमजोर नै रहेका छन् भन्ने विश्लेषण गर्न सकिन्छ । साथै, एउटा जिम्मेवार व्यक्तिले यसो भन्नुले र निर्वाचन आयोग तथा दलहरुको क्रियाकलाप हेर्दा पनि मंसिरमा चुनाव लगभग असम्भव जस्तै छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।