असार २६  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गैरकानुनी तरिकाबाट चीनको खासाबाट भारत लैजाने उद्देश्यका साथ ल्याइँदै गरेको ३५ किलो सुन राजधानीको कोटेश्वरबाट बरामद गरेको छ।
उक्त बरामद गरिएको सुनको बजार मूल्य करिब रु १७ करोड ५० लाख भएको प्रहरीले जनाएको छ ।

चीनको खासाबाट तातोपानी नाकाहुँदै सामान लिएर काठमाडौँ आइरहेको बा३प २५७० नम्बरको कन्टेनरको अघिल्लो भागमा फल्स् बटन बनाएर लुकाइ ल्याइरहेको अवस्थामा एक-एक किलोग्राम तौलका ३५ टुक्रा सुन बरामद गरिएको व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले बताए ।

सिन्धुपाल्चोक जिल्ला तातोपानी गाविस–८ का कन्टेनर चालक २४ वर्षीय निमा छिरिङ तामाङसमेतको संलग्नता भएकाले उनीमार्फत मुख्य कारोबारीको खोजतलास भइरहेको तथा कारोबारमा संलग्न केहीको पहिचानसमेत खुलिसकेको व्यूरोले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

बरामद गरिएका सबै सुन बिस्कुट आकारमा छन् ।तातोपानी नाकाहुँदै काठमाडौँ ल्याइरहेको उक्त कन्टेनर
मा ठूलो परिमाणमा सुन राजधानी भित्रिँदै छ भन्ने व्यूरोले सूचना पाएपछि उक्त कन्टेनरलाई पिछा गरेर समातिएको प्रहरीले बताएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।