असार २३ । तिब्बती धार्मिक नेता दलाई लामाको जन्मदिनको दिन आज बालुवाटार आसपासमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

लामाको जन्मदिनको दिन सो क्षेत्रमा तिब्बतीहरुले प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडाई गरिएको हो ।

बालुवाटार परिसरमै चिनियाँ दुतावास रहेकाले सो क्षेत्रमा तिब्बती शरणार्थीले प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले सो स्थानमा उच्च सुरक्षा व्यवस्था अपनाएको हो । केही सम्भावित स्थानहरुमा प्रहरी समेत खटाइएको बताइएको छ ।

उक्त क्षेत्रहरुमा सार्वजनिक सवारी साधनहरुलाई समेत प्रवेश निषेध गरिएको छ ।

पुतलीसडकबाट बालुवाटर जाने गाडीलाई कृष्णपाउरोटीबाट लोत्सेचोक हुँदै नक्साल तथा हात्तीसारबाट एकतर्फी मार्ग भएर गुड्नेलाई नागपोखरी र महाराजगञ्जबाट चल्ने गाडीलाई खुर्सानीटारबाट पास गराइएको छ ।

तर उक्त स्थानमा गाडी प्रवेश गराइएको खबर महानगरीय टाफिक प्रहरी कन्टोल रुमलाई भने थाहा छैन । त्यहाँ फोन गरेर बुझ्दा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन परेकाले केही भीडभाड रहने सम्भावना भए पनि अन्य स्थानमा सार्वजनिक सवारी साधान रोक लगाएको कुरा आफूहरुलाई थाहा नभएको बताउँछन् ।

यसअघि काठमाडौँमा रहेको चिनियाँ दूतावासले नेपाललाई पत्र काटेर चीनमा हुने आतंकवादी क्रियाकलाप रोक्न सहयोगको माग गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।