असार १९ । ४ अर्ब भन्दा बढी भ्रष्टचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुको शिविर भ्रष्टचार विषयको अनुसन्धान अघि बढाएको छ ।
शिविरमा रहेका तत्कालिन माओवादी लडाकुको तलबभत्ताका लागि राज्यकोषबाट खर्च भएको रकममा चार अर्ब भन्दा बढी माओवादी नेता तथा लडाकुका कमाण्डरले भ्रष्टचार गरिएको आशंका गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान अघि बढाएको अन्नपूर्ण दैनिकले समाचार छापेको छ ।
अख्तियारले लडाकु खर्चसम्बन्धी सम्पूर्ण हिसाबकिताबको विवरण तथा फाइल सम्बन्धित निकायबाट मगाइसेको बताइएको छ ।
यसअघि तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोशबाट भएको खर्चमा दुरुपयोग भएको निश्कर्ष निकाल्दै छानबिन गर्ने नीतिगत निर्णय गरेको भएपनि विभिन्न कारणले अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको थिएन ।
त्यसो त एमाले निकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा राज्य कोषबाट करोडौ रकम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो ।
उक्त भ्रष्टचारका विषयमा अनुसन्धान भए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताहरुको समेत संलग्ता भेटिने बताइँदै आएको छ । प्रचण्डको समेत संलग्नता रहने भएकाले नै यसअघि शिविर भ्रष्टचारको अनुसन्धान हुन नसकेको बताइएको छ ।
प्रचण्डकै सिफारिसवालाद्धारा उनकै विरुद्ध अनुसन्धान
अहिले अख्तियार प्रमुखमा लोकमानसिंह कार्की छन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहको पालाका मुख्य सचिव पनि थिए । उनै कार्की जनआन्दोलन २०६२/६३ दबाउने मध्ये एक पनि थिए । त्यसो त उनैलाई अख्तियारले ७२ लाखको सुन तस्करीकाण्डमा दोषी समेत ठहराएको थियो ।
यति हुँदाहुँदै पनि कार्कीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुखमा प्रस्ताव गरेका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत भएका बेला प्रचण्डबाट यस्तो प्रस्ताव आएपछि अन्य दल नबोली बस्दा चौतर्फी विवादका बिच पनि कार्की अख्तियार प्रमुख बनेका थिए ।
त्यतिबेला विवास्पद छबिका कार्कीलाई अख्तियार प्रमुख बनाउन आर्थिक चलखेल भएको तथा शिविर भ्रष्टचार नहेर्ने शर्त रहेको चर्चा गरिएको थियो ।
तर उनै कार्कीले प्रचण्डकै विपक्षीमा हुने गरी शिविर भ्रष्टचारकाण्डको अनुसन्धान सुरु गरेका छन् । यसलाई अघि बढाएर निष्कर्षमा पुर्याए उनले धेरैको स्याबासी पाउनेछन् भने सुरु गरे जस्तो गरेर आलटाल गरेमा नुनको सोझो गरे भनेर भन्नेछन् ।