असार १८ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोटर्स अवार्ड अन्र्तगत क्रिकेटका पारस खड्का र करातेकी गंगा अधिकारी २०६९ सालको उत्कृष्ट खेलाडी घोषित भएका छन ।
राजधानीमा भएको अवार्ड घोषणा कार्यक्रममा पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि नेपाली क्रिकेट टोलिका कप्तान पारसले जित्दा महिला तर्फ क्रिकेटकी गंगा उत्कृष्ट भएकी हुन् ।
पारसले क्रिकेटकै बसन्त रेग्मी, एथ्लेटिक्सका तिलकराम थारु, करातेका सुनिल लामा र फुटबलका भरत खवासलाई पछि पार्दै उपाधि हात पार्न सफल भए ।
पारस २०६६ सालमा पनि उत्कृष्ट पुरुष खेलाडी भएका थिए भने २०६४ सालमा उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए ।
उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा गंगाले पनि पौडीकी श्रेया धिताल, फुटबलकी जमुना गुरुङ र अनु लामा तथा उसुकी झरना गुरुङलाई पछि पारिन ।
यस्तै लोकप्रिय बर्ष खेलाडीको उपाधि उसुकी झरना गुरुङले जितिन । झरनाले क्रिकेटका पारस, फुटबलर जकजित श्रेष्ठ, पौडीका शिरिष गुरुङ र एथलेटिक्सका केशरी चौधरीलाई पछि पार्दै उपाधि जितेकी हुन ।
पल्सर स्पोट्स अवार्ड अन्तगत उत्कृष्ट युवा खेलाडीको अवार्ड उसुकी चाहाना बम्जनले जितेकी छन । उत्कृष्ट प्रशिक्षकको उपाधि क्रिकेटका पुबुदु दासानायकेले हात पारे भने नेपाली सेनाका विक्रम बहादुर राना उत्कृष्ट पारा एथलिट घोषित भए । स्पेसल अवार्डबाट नेपाल नेत्रहिन क्रिकेट संघका पवन घिमिरे सम्मानित भएका छन ।
लाईफटाईम एचिभमेन्ट अवार्ड राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक भिम थापालाई प्रदान गरिएको छ ।
उत्कृष्ट महिला, पुरुष र लोकप्रिय खेलाडीले पल्सर मोटसाईकल पाएका छन भने अन्य बिधाका बिजेताले ५०–५० हजार प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष पल्सर स्पोटर्स अवार्ड हुँदै आएको छ ।