असार १७ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकको राजनीतिक सङ्कटको एकमात्र निकास निर्वाचन भएको र नेपाली जनता पनि निर्वाचनको पक्षमा रहेकाले निर्वाचन हुने कुरामा कुनै शङ्का नरहेको बताएका छन् ।
उपचारको क्रममा अमेरिकामा रहनुभएका सभापति कोइरालाले काँग्रेस सम्बद्व नेपाल–अमेरिका जनसम्पर्क समितिले न्युयोर्क ज्याक्सन हाइटमा आयोजना गरेको कार्यक्रममा निर्वाचनको विकल्प नभएकाले अहिले आन्दोलनरत दलहरु पनि अन्ततः निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।
सभापति कोइरालाले नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाललगायत आन्दोलनरत दलका नेताहरुसँग चुनावमा सहभागी हुनेबारेमा कुराकानी भइरहेको बताउँदै काँग्रेस सङघीयता विरोधी नभएको तर जातीय सङ्घीयताको पक्षमा पनि नरहेको पनि स्पष्ट गरे ।
“आउँदो निर्वाचनमा नेताहरुको वरिपरि घुम्ने र राजधानीमा बस्नेले होइन, जिल्लामा काम गर्ने र क्षेत्रले स्वीकृत गरेर पठाएका उम्मेदवारीलाई पार्टीले टिकट दिनेछ,” एक अर्को प्रसङ्गमा सभापति कोइरालाले भने ।
कार्यक्रममा सङ्गठन विभागका सदस्य मृदुला कोइराला, महासमिति सदस्य वेदप्रसाद खरेल, जनसम्पर्क समितिका पूर्व सभापति खगेन्द्र जिसी, न्युयोर्क च्याप्टरकी अध्यक्ष जेनीसा गुरुङ, कर्म सिटौला, मनेन्द्र नेवाङलगायतले आउँदो चुनावमा नेताको वरिपरि घुम्नेभन्दा जिल्लामा सक्रिय हुनेलाई टिकट दिन आग्रह गरेको न्युयोर्कस्थित काँग्रेस सक्रिय सदस्य अनन्त सुवेदीले जानकारी दिए ।
उनका अनुसार नेपालमा भएको बाढीपीडितलाई राहत दिनको लागि त्यहाँका काँग्रेस सक्रिय सदस्यले ५० डलर र साधारण सदस्यले इच्छाअनुसार दिने निर्णय भएको पनि बताए ।
केही वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित सभापति कोइरालाको मङ्गलबार सोनो क्याटरिङ क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण हुने बताइएको छ । रासस