क्यालिफोर्नियामा समलिङ्गी विवाहको प्रतिबन्ध हट्यो

असार १५ । यसै साता अमेरिकी सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेपछि एक सङ्घीय अदालतले शुक्रबार क्यालिफोर्नियामा समलिङ्गी विवाहमा लगाइएको प्रतिबन्ध तत्कालैदेखि हटाएको छ ।

    अदालतको यो निर्णय अपेक्षा गरेभन्दा निकै छिटो आएको बताइन्छ । सान फ्रान्सिस्कोको ‘नाइन्थ सर्किट कोर्ट अफ अपिल्स’ले समलिङ्गी विवाहमाथि लगाइएको प्रतिबन्ध तत्कालै खारेज गरिएको जानकारी दिएको छ ।

    अमेरिकाको क्यालिफोर्नियामा समलिङ्गी विवाहमाथि लगाइएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा हालिएको मुद्दालाई ‘प्रोपोजिसन एट’ को नामले चिनिन्छ र पल कटामी तथा जेफ जरिलोले शुक्रबार साँझ लस एन्जलिस सभागृहमा विवाह गर्ने जानकारी दिएका छन् ।

    क्यालिफोर्नियाका महान्यायाधीवक्ता कमला ह्यारिसले आफूले ‘प्रोपोजिसन एट’ का निवेदक क्रिस्टिन पेरी तथा सान्ड्रा स्टिरको विवाह सम्पन्न गरिदिने जानकारी ट्विटरमार्फत दिएका छन् । एजेन्सी