असार १५ । नेकपा माओवादीको आजदेखि सुरु भएको दोस्रो पूर्ण बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष मोहन वैद्य किरणद्वारा राजनीतिक प्रस्ताव पेश गरिएको छ । उक्त प्रस्तावमा
वर्तमान राजनीतिक स्थितिको विश्लेषण गरी देशभित्रका दलाल राजनीतिक शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिको पहलमा अलोकतान्त्रिक ढंगले निर्माण भएको निर्दलीय सरकारको नेतृत्वमा घोषणा गरेको संविधान सभाको निर्वाचन केवल नौटंकी भएको र त्यसबाट जनताको संविधान बन्न नसक्ने निष्कर्ष निकालिएको छ ।

त्यस्तै, संविधान सभाको निर्वाचनको प्रश्न लोकतन्त्रको प्रश्न त हो तर त्यसको आवरणमा बलिदानी संघर्षबाट प्राप्त विगतका कैयन उपलब्धिहरुलाई समाप्त पार्ने र नेपाललाई सिक्किमीकरण गर्ने षड्यन्त्र भइरहेको पनि उल्लेख गरिएको छ । यसलाई पार्टीले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने र बहिष्कार गरेर जानुपर्ने कुरा प्रस्तावमा उल्लेख प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।

बहिष्कार अभियानलाई सफल पार्न सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिसित मिलेर संयुक्त आन्दोलनलाई तीव्र पार्ने पनि प्रस्तावमा उल्लेख छ ।

अध्यक्ष वैद्यको प्रस्तावमा सर्वपक्षीय गोलमेच सभा, दलीय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन र त्यसैबाट अग्रगामी राजनीतिक निकास निकाल्ने पक्षमा पनि पार्टी प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

आजको बैठकमा पार्टी महासचिव राम बहादुर थापा बादलले संगठन र संघर्षसम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा बोलदै प्रस्तावहरुको समर्थनमा उपाध्यक्ष सिपी गजुरेल गौरव, सचिवद्वय देव गुरुङ र नेत्र विक्रम चन्द विप्लवले धारणा राखेका छन् ।

बैठक भोलि बिहान ८ बजे सोही स्थानमा बस्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।