असार १३, रासस । नेकपा–माओवादी महोत्तरीले जिल्लाको सुदूरपश्चिम–दक्षिणवर्ती फूलकाहा गाविसमा १३५ बिघा निजी जग्गा कब्जा गरेको छ । बसन्त श्रेष्ठ, नरेश यादव र जगन्नाथ सिंह स्वामित्वका १३५ बिघा जमिन सो पार्टीका कार्यकर्ताले बुधबार कब्जा गरेका हुन् ।

यसअघि जनयुद्घमा रहेको तत्कालीन नेकपा माओवादीले २०५५ सालमा कब्जा गरेको सो जग्गा २०६५ सालमा फिर्ता गरेको थियो ।

कानुनी स्वामित्व यी तीनजनाको नाउँमा देखिए पनि सो जग्गा वर्र्षाैंअघिदेखि भूमिहीन गरिब किसानले खनजोत गर्दै आएकाले उनीहरुको गाउँ बसाउन जग्गा कब्जा गरिएको नेकपा–माओवादी महोत्तरीले जनाएको छ । पार्टीको झण्डा गाडेर कब्जा गरिएको सो जग्गामा धमाधम सुकुम्वासी बस्ती बसाउन लागिएको सो पार्टीको वर्र्गीय सङ्गठन अखिल नेपाल किसान सङ्घको मिथिला ब्युरोकी सहसंयोजक अप्सरा बरालले बताए ।

यसअघि जिल्लाको भङ्गाहा, हरिहरपुरहरिनमरी र बनौटा गाविसमा गरी करिब १०० बिघा जग्गा सो दलले २०५५ सालदेखि नै कब्जा गर्दैआएको छ । यसैबीच मानवअधिकारकर्मी र कानुन व्यवसायीहरुले माओवादीले निजी सम्पत्ति कब्जा गरेर गाउँबस्तीका बासिन्दालाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।