असार १२, रासस । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४९ हजार ३ सय ५० रुपैयाँमा बिक्री भयो । हिजो मङ्गलबार प्रतितोला ५० हजार २ सय रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्यमा आज प्रतितोला ८ सय ५० ले कमी भएको हो ।

महासङ्घले तेजावी सुनको मूल्य बजारमा आज प्रतितोला ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको बताएको छ । सोको मूल्य अघिल्लो दिन ४९ हजार ९ सय ५० रुपैयाँ थियो । त्यस्तै असली चाँदीको मूल्यमा पनि आज अघिल्लो दिनको तुलनामा २० ले कमी आई ७ सय ९० रुपैयाँ कायम भयो । महासङ्घले सोको मूल्य अघिल्लो दिन ८ सय १० रुपैयाँ निर्धारण गरेको थियो ।

महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था मजबुत भएका कारणले सोही बजारमा सुनको मूल्यमा कमी आएको र नेपालमा पनि मूल्य घटेको बताए ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुन प्रति औंस एक हजार २ सय ७७ अमेरिकी डलर कायम रहेकामा आज २५ डलरले कमी भई एक हजार २ सय ५२ अमेरिकी डलर कायम रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।