असार १२ । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला अमेरिकामा उपचारसँगै स्वास्थ्यमा सुधार आएपछि भारत फर्किएकी छन् ।
करिब ६ महिनासम्म पाठेघर क्यान्सरको उपचार गराएर निको भएपछि उनी बुबा प्रकाश कोइराला तथा आमा सुष्मासँगै मनिषा न्युयोर्कबाट मंगलबार मुम्बई फर्केकी हुन् ।
यसअघि मुम्बईको जसलोक अस्पतालमा उपचार गराउँदा क्यान्सर भएको पुष्टि भएको थियो । त्यसपछि अस्पतालको सल्लाह अनुसार उनी क्यान्सरको अप्रेशनका लागि अमेरिका गएकी थिइन् ।
मनिषाले क्यान्सरबाट पूर्ण मुक्ति पाए पनि दुई वर्षसम्म प्रत्येक तीन महिनामा नियमित परीक्षण गराउनुपर्ने र ५ वर्षसम्म नियमित स्वास्थ्य जाँच गराउनु पर्ने चिकित्सकले उनलाई सल्लाह दिएका छन् ।
डिसेम्बर १० मा पाठेघरको शल्यक्रियापछि २१ डिसेम्बरमा डिस्चार्ज भएकी मनिषाले ६ महिनासम्म बुबा आमा र भाइ सिद्धार्थ कोइराला सँगै अपार्टमेन्टमा बसेर नियमित स्वास्थ्य जाँच गराएकी थिइन् ।