यस्ता छन् चीन र नेपालबीच भएका सम्झौताहरु

असार ११ । उत्तरमा अवस्थित छिमेकी राष्ट चीन र नेपालबीच महत्वपूर्ण तीन वटा सम्झौतामा सहमति भएको हो ।

चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको टोली र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा आज सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा नेपालको तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री जियाङ योपिङले हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच चीनले दिने प्राविधिक सहयोग, दुई पक्षीय आर्थिक साझेदारी र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरित सम्झौता अनुसार सहमति अनुसार चीनले संविधानसभा चुनाव र विभिन्न विकास निर्माणमा नेपाललाई झण्डै ४ अर्ब रुपैयाँ सहयोग गर्नेछ ।

जस अनुसार चीनद्धारा संविधानसभा निर्वाचनका लागि एक करोड युआन (करिब १६ करोड रुपैयाँ) र प्रतिष्ठान निर्माणका लागि ३ अर्ब ६० करोड रुपैयाँ आउने बताइएको छ ।

डेढ वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा प्रतिष्ठान निर्माणमा आर्थिक सहयोग दिने सैद्धान्तिक सहमति भएको थियो । उक्त भ्रमणमा जेइची विदेशमन्त्रीका रुपमा सम्मिलित थिए। चीनले त्यतिबेला विभिन्न परियोजनामा ७ सय ५० चिनियाँ युआन (करिब १२ अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो।