असार १० । अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान) ले अनलाइन पत्रकारितामाथि राज्यको हस्तक्षेप बढेको भन्दै त्यसको प्रतिकार र आफ्नो व्यवसायिक मर्यादा कायम राख्न एकाकार हुन आव्हान गरेको छ ।

एसोसिएसनका अध्यक्ष दिनेश बस्नेत र महासचिव धर्मराज भुसालले एक वक्तव्यमार्फत समाचार लेखेकै आधारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी राज्यले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाउनु भएको हो । अध्यक्ष बस्नेत र महासचिव भुसालद्वारा संयुक्त रुपमा जारी वक्तव्यमा ओमान नेपाली अनलाइन पत्रकारको हकहितका लागि आधा दशक अगाडिदेखि निरन्तर संघर्ष गर्दै आइरहेको अनलाइन पत्रकारहरुको पेशागत संगठन भन्दै ओमानकै संघर्षको प्रतिफलस्वरुप ऐन, कानून र नेपाल पत्रकार महासंघको विधानमा समेत अनलाइन पत्रकारितालाई अन्य मिडियासरह मान्यता दिन सबै पक्ष राजी भएको उल्लेख छच । वक्तव्यमा सूचना विभागबाट सीमित संख्यामा मात्रै भए पनि अनलाइनलाई प्रेस पास उपलब्ध गराउने व्यवस्था ओमानकै संघर्षको प्रतिफल हो भन्ने सम्पूर्ण अनलाइन सञ्चारकर्मी मित्रहरुसमक्ष स्मरण गराउन पाउँदा हामीले गौरवान्वित महसुस गरेको भन्दै पछिल्ला दिनमा अनलाइन पत्रकारको हकहितको लडाइँ अझै पेचिलो बनेको हामीले महशुस गरेको उल्लेख गरिएको छ ।

वक्तव्यमा नेपालमा दु्रतगतिमा फस्टाइरहेको अनलाइन मिडियाको घाँटी निमोठ्न राज्य योजनावद्ध किसिमले लागिपरेको घटनाक्रमहरुले देखाइरहेको भन्दै अनलाइन पत्रिकामा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर क्राइमजस्तो जघन्य फौजदारी अभियोग लगाउने कार्यको ओमान घोर भर्त्सना गरिएको छ । अनलाइन मिडियालाई नियन्त्रण गर्नका लागि राज्यले लागू गरेको विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज गर्न ओमान जोडदार माग गर्दै समाचार लेखेबापत अनलाइन पत्रकारलाई प्रहरीले गिरफ्तार गर्ने र फौजदारी अभियोग लगाउने कार्य तत्काल रोक्न हामी आग्रह गरिएको छ। वक्तव्यमा पत्रकारलाई समाचार लेखेवापत फौजरदारी कानुन लगाउने हरकत तत्काल बन्द नगरिए हामी आन्दोलनमा उत्रन बाध्य चेतावनीसमेत दिइएको छ ।

वक्तव्यमा अनलाइन पत्रकारिताको बढ्दो विकाससँगै यसलाई विश्वसनीय, व्यवसायिक र मर्यादित बनाउने दायित्व पनि अरु कसैको नभएर हामी पत्रकारहरुकै हो भन्दै पत्रकार आचारसंहिता एवं व्यवसायिक मूल्य मान्यतासहितको विश्वसनीय पत्रकारिताप्रति सधैं प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । । ‘हामी आफैंले अनलाइन पत्रकारितालाई मर्यादित बनाउन र बदनाम हुनबाट जोगाउन समयमै उपयुक्त कदम चाल्न अत्यन्त जरुरी देखिएको’ उल्लेख गर्दै यही दायित्व र आवश्यकतालाई आत्मसाथ गर्दै अनलाइन पत्रकारहरुका लागि आन्तरिक आचारसंहिता निर्माणको गृहकार्य भइरहेकाले अनलाइन मिडियालाई व्यवस्थित गर्न र राज्यबाट अनलाइनमा माथि भइरहेको हस्तक्षेपका विरुद्ध पेशागत आवाजलाई बलियोसँग उठाउन सम्पूर्ण अनलाइन पत्रकारहरु एकतावद्ध हुन अपरिहार्य देखिएको उल्लेख गरिएको छ ।

वक्तव्यमा नेपाली अनलाइन पत्रकारिताको यो चुनौतीपूर्ण ऐतिहासिक अभिभारा पूरा गर्नका लागि सम्पूर्ण अनलाइन पत्रकारहरुलाई ओमानमा आवद्ध भई अनलाइन पत्रकारिताको व्यवसायिक सुरक्षा एवं स्तरवृद्धिको अभियानमा एकाकार हुन सार्वजनिक आह्वान गरिएको छ ।

अनलाइन मिडियालाई कसरी व्यवस्थित एवं नियमन गर्ने भन्ने विषयमा प्रेस काउन्सिल नेपालले अनलाइन मिडियाकर्मीसँग ०७० असार १० गते सोमबार गरेको छलफल प्रभावकारी रहेको निश्कर्ष निकाल्दै सो छलफलपछि प्रेस काउन्सिलले अनलाइन मिडियालाई सूचीकरण गर्न राखेको प्रस्तावको स्वागत गरिएको छ । वक्तव्यमा सूचीकरणको विधि र प्रक्रिया निश्चित गर्दा अनलाइन मिडियाकर्मीसँग काउन्सिलले उपयुक्त परामर्श र छलफल गरोस् भन्ने आग्रहसमेत गरिएको छ।

वक्तवयको् अन्त्यमा अनलाइन पत्रकारमाथि भएको राज्यस्तरको हस्तक्षेप एवं गिरफ्तारीविरुद्ध नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाललगायतका संघसंस्थाले खेलेको सकारात्मक भूमिका र सहयोगप्रति ओमानले हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गरेको छ ।

प्रेस वक्तव्य जस्ताको तस्तै
पछिल्ला केही दिनयता अनलाइन मिडिया एवं यसमा कार्यरत सञ्चारकर्मीका विषयमा विभिन्न प्रकारका चर्चा, परिचर्चा एवं बहस शुरु भएको छ । केही अनलाइनकर्मीहरुको गिरफ्तारी र उनीहरुमाथि विद्युतीय कारोबार ऐन लगाइएपछि नेपालको अनलाइन मिडियामा सघन बहस उत्पन्न भएको हो । यसै परिप्रेक्ष्यमा अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान)का तर्फबाट देहायबमोजिम आफ्ना धारणा सार्वजनिक गर्न हामीले यो विज्ञप्ति जारी गरेका छौं ।
१. ओमान नेपाली अनलाइन पत्रकारको हकहितका लागि आधा दशक अगाडिदेखि निरन्तर संघर्ष गर्दै आइरहेको अनलाइन पत्रकारहरुको पेशागत संगठन हो । ओमानकै संघर्षको प्रतिफलस्वरुप ऐन, कानून र नेपाल पत्रकार महासंघको विधानमा समेत अनलाइन पत्रकारितालाई अन्य मिडियासरह मान्यता दिन सबै पक्ष राजी भएका हुन् । सूचना विभागबाट सीमित संख्यामा मात्रै भए पनि अनलाइनलाई प्रेस पास उपलब्ध गराउने व्यवस्था ओमानकै संघर्षको प्रतिफल हो भन्ने सम्पूर्ण अनलाइन सञ्चारकर्मी मित्रहरुसमक्ष स्मरण गराउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं । तर, पछिल्ला दिनमा अनलाइन पत्रकारको हकहितको लडाइँ अझै पेचिलो बनेको हामीले महशुस गरेका छौं ।
२. नेपालमा दु्रतगतिमा फस्टाइरहेको अनलाइन मिडियाको घाँटी निमोठ्न राज्य योजनावद्ध किसिमले लागिपरेको घटनाक्रमहरुले देखाइरहेका छन् । अनलाइन पत्रिकामा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर क्राइमजस्तो जघन्य फौजदारी अभियोग लगाउने कार्यको ओमान घोर भर्त्सना गर्दछ । अनलाइन मिडियालाई नियन्त्रण गर्नका लागि राज्यले लागू गरेको विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज गर्न ओमान जोडदार माग गर्दछ । समाचार लेखेबापत अनलाइन पत्रकारलाई प्रहरीले गिरफ्तार गर्ने र फौजदारी अभियोग लगाउने कार्य तत्काल रोक्न हामी आग्रह गर्दछौं । पत्रकारलाई समाचार लेखेवापत फौजरदारी कानुन लगाउने हरकत तत्काल बन्द नगरिए हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।
३. अनलाइन पत्रकारिताको बढ्दो विकाससँगै यसलाई विश्वसनीय, व्यवसायिक र मर्यादित बनाउने दायित्व पनि अरु कसैको नभएर हामी पत्रकारहरुकै हो । पत्रकार आचारसंहिता एवं व्यवसायिक मूल्य मान्यतासहितको विश्वसनीय पत्रकारिताप्रति हामी सधैं प्रतिवद्ध छौं । हामी आफैंले अनलाइन पत्रकारितालाई मर्यादित बनाउन र बदनाम हुनबाट जोगाउन समयमै उपयुक्त कदम चाल्न अत्यन्त जरुरी देखिएको छ । यही दायित्व र आवश्यकतालाई आत्मसाथ गर्दै हामीले अनलाइन पत्रकारहरुका लागि आन्तरिक आचारसंहिता निर्माणको गृहकार्य गरिरहेका छौं । यसर्थ अनलाइन मिडियालाई व्यवस्थित गर्न र राज्यबाट अनलाइनमा माथि भइरहेको हस्तक्षेपका विरुद्ध पेशागत आवाजलाई बलियोसँग उठाउन सम्पूर्ण अनलाइन पत्रकारहरु एकतावद्ध हुन अपरिहार्य देखिएको छ ।
नेपाली अनलाइन पत्रकारिताको यो चुनौतीपूर्ण ऐतिहासिक अभिभारा पूरा गर्नका लागि सम्पूर्ण अनलाइन पत्रकारहरुलाई ओमानमा आवद्ध भई अनलाइन पत्रकारिताको व्यवसायिक सुरक्षा एवं स्तरवृद्धिको अभियानमा एकाकार हुन हामी सार्वजनिक आह्वान गर्दछौं ।
४. अनलाइन मिडियालाई कसरी व्यवस्थित एवं नियमन गर्ने भन्ने विषयमा प्रेस काउन्सिल नेपालले अनलाइन मिडियाकर्मीसँग ०७० असार १० गते गरेको छलफल प्रभावकारी रहेको हाम्रो निश्कर्ष छ । सो छलफलपछि प्रेस काउन्सिलले अनलाइन मिडियालाई सूचीकरण गर्न राखेको प्रस्तावको हामी स्वागत गर्दछौं । तर, सूचीकरणको विधि र प्रक्रिया निश्चित गर्दा अनलाइन मिडियाकर्मीसँग काउन्सिलले उपयुक्त परामर्श र छलफल गरोस् भन्ने हाम्रो आग्रह छ ।
५. अनलाइन पत्रकारकाथि भएको राज्यस्तरको हस्तक्षेप एवं गिरफ्तारीविरुद्ध नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले खेलेको सकारात्मक भूमिका र सहयोगप्रति ओमान हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्न चाहन्छ ।

दिनेश बस्नेत
अध्यक्ष

धर्मराज भुसाल
महासचिव
अनलाइन मिडिया एसोसिएसन

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।