असार ६, रासस । महोत्तरी जिल्लाको मनरा र एकडारा बेलाको बीचमा पर्ने जंगल पुलमा बन्दको अवज्ञा गरेको भन्दै बुधबार गोली प्रहार गरिँदा एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

स्थानीय मनराका अभय सिंह र उनकी पत्नी सोनमलाई हतियारधारी समूहले चलाएको गोली लागेको थियो । गोली लागेका दुवैको स्वास्थ्य स्थिति गम्भीर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुमार न्यौपानेले जानकारी दिएका छन् ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति पार्टी (राजन मुक्ति समूह)ले सो घटनाको जिम्मेवारी लिँदै पीडितहरूमाथि आठ राउन्ड गोली प्रहार गरिएको जनाएको छ ।

घाइते दुवैको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जनतान्त्रिक तराई मुक्ति पार्टीले पूर्वराजा ज्ञानेन्द्रका भ्रमणको विरोधमा दुई दिन दुई जिल्ला बन्द गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।