असार ५ । नेकपा एमालेको स्थायी कमिटीको बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको बैठक अगामी साउन ४, ५ र ६ गते आयोजना गर्ने निर्णय गरेको छ । यसअघि केन्द्रीय कमिटीको बैठक यही असार ७, ८ र ९ गते आयोजना गरिने भनिएको थियो ।

देशका विभिन्न भागमा आएको अविरल वर्षाले पु¥याएको क्षतिप्रति बैठकले दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित व्यक्तिहरूलाई प्रभावकारी ढङ्गले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागसमेत गरेको छ ।

पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको सो बैठकले राहत तथा उद्धारको काममा सक्रियतापूर्वक लाग्न स्थानीय पार्टी कमिटी तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

यसैबीच, नेकपा (माले)ले सुदूरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्जल विकास क्षेत्रका विभिन्न जिल्लामा भीषण वर्षाका कारण आएको बाढीले पु¥याएको व्यापक जनधनको नोक्सानीप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीको प्रकोपमा परी मृत्यु भएका सबै परिवारलाई समुचित राहत वितरण गर्न सरकारसँग माग गरेको छ ।

पार्टी महासचिव सीपी मैनालीले आज यहाँ विज्ञप्ति प्रकाशित गरी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यमा जुट्न स्थानीय पार्टी पङ्क्तिलाई निर्देशनसमेत दिए ।

त्यस्तै, जनयुनिटी को–अपरेटिभ पार्टी नेपालले समेत बाढी पहिरोका कारण जनधनको व्यापक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।