असार ४ । तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन् । सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन् ।

घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताएका छन् ।

अहिले पानी पर्ने क्रममा केही कमी आएको र महाकाली नदीको बहावमा समेत कमी आए पनि नदीले कटान भने तीब्ररुपमा गरिरहेको उनले बताए ।

नदीको कटान नरोकिएकाले अझै क्षति बढ्न सक्ने उनको भनाई छ । “घरवारविहीनताको अवस्थामा पुगेका परिवारलाई विद्यालय र सुरक्षित स्थानमा रहेका घरहरुमा बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनका अनुसार बाढीले सबैभन्दा बढी क्षति खलङ्गा गाविस–५ बाँगाबगड र गल्फैमा पु¥याएको छ । सदरमुकाम नजिक रहेको कालागाड जलविद्युत् परियोजनको विद्युत्गृह नदीले बगाएपछि त्यहाँ दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प रहेको छ । विद्युत् सेवा ठप्प भएसँगै सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकाम खलङ्गा जोड्ने सडकको ठाउँ ठाउँमा पहिरो जाँदा यातायात सेवासमेत पूर्णरुपमा अबरुद्ध भएको छ । उकू र दत्तु गाविस जोड्ने दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।

पानीको सतह पुरै नघटेकाले यहाँका बासिन्दा अझै आतङ्कित अवस्थामा रहेका छन् । भारतले धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध फुट्न लागेको भन्दै बाँध खोलेपछि दार्चुला क्षेत्रमा भीषण बाढी आएको स्थानीयको भनाइ रहेको छ ।

यसैगरी, डडेल्धुराको सिमल जाला क्षेत्र र परिगाउँ क्षेत्रका दुई दर्जनभन्दा बढी घर महाकाली नदीमा आएको बाढीले डुवानमा परेका छन् । ईप्रका जोगबुढाका अनुसार त्यस क्षेत्रबाट हालसम्म तीन परिवार विस्थापित भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।