असार ४ । तीन दिनदेखि भइरहेको निरन्तर वर्षासँगै महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको पानी चार लाख ६१ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

पानीको बहाव उच्च भएपछि नेपाल–भारत सीमा पुल बनबासामा सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

पुल भएर ओहोरदोहोर गर्ने यात्रुलाई समेत भारतीय प्रहरीले रोकेका छन् । पुल धेरै पुरानो भएकाले पुलमा पानीको बहाव एक लाख क्युसेक बढी भएमा सवारीसाधन सञ्चालनमा रोक लगाइदै आएको छ ।

यसैबीच, महाकाली नदीमा पानीको बहाव उच्च भएपछि नदी तटीय क्षेत्र भीमदत्त नगरपालिकाका ओदाली, पिरैया, भुजेला क्षेत्र उच्च जोखिममा परेकाले स्थानीय बासिन्दालाई सर्तकता अपनाउन लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बृखबहादुर रावलले बताए ।

उनका अनुसार भुजेला क्षेत्रको केही क्षेत्र डुबानमा परेको छ भने नदीले नेपालतर्फको भू–भाग तीब्ररुपमा कटान गरिरहेको छ ।

महाकालीपारिको दोधारा गाविसको वडा नं ७, ८ र ९ पूर्णरुपमा डुबानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जनाएको छ ।

महाकाली नदी गाउँ पसेपछि सर्वसाधारणहरु सुरक्षित स्थानतर्फ लागेका छन् । सबैभन्दा बढी वडा नं ८ शान्तिटोलका ६० परिवार विस्थापनमा परेको स्थानीय पप्पु गुरुङले बताए ।

चाँदनी गाविसका वडा नं ३ र ४ समेत डुबानमा परेको छ । जिल्लाका परासन, लक्ष्मीपुर, रामपुर, विलाशिपुर, शङ्करपुर पिपलाडी, देखतभुली क्षेत्र भएर बग्ने दोदा, सनवोरा, स्यालीलगायतका नदीको जलस्तरसमेत उच्च गतिमा बढ्दै गएको छ ।

सनवोरा नदीले पिपलाडीको ढकनिया र रानीपुर क्षेत्र, दोदा नदीले देखतभूलीको तिलकी, जाई, कृष्णपुरको दयाअमरपुर शिविर, शङ्करपुर गाविसको कञ्ज र पर्सिया क्षेत्र र स्याली नदीले कालागौंडीको आन्ध्राजाला मुक्त कमैंया शिविरमा जग्गा कटानको कार्य तीब्र बनाएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले हालसम्म नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विवरण खबर आई नसकेको जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।