असार २ । विभिन्न माग राखी साना पाँच दलले गरेको अनिश्चितकालीन सङ्खुवासभा जिल्ला बन्द आज चौथो दिन पनि जारी छ ।

नेकपा–माओवादी वैद्य पक्ष, नेकपा माओवादी मातृका, मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान, सङ्घीय समाजवादी पार्टी र जनमुक्ति पार्टीले अस्पतालमा भएको आर्थिक अनियमितताको छानबिन हुनुपर्ने, दरबन्दीका डाक्टरहरू तत्काल परिपूर्ति गर्नुपर्ने, मनपरि सरुवा रोक्नुपर्नेलगायतका सात बुँदे माग राखी गत बिहीबारदेखि अनिश्चितकालीन सङ्खुवासभा बन्द गरेका हुन् ।

बन्दका कारण सवारीसाधन बिहानैदेखि गुडेका छैनन् भने बजार पनि बन्द रहेका छन् ।

बन्दले सवारीसाधन नचलेपछि भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिलका लागि जिल्लाबाहिरका कलेजमा पढ्न चाहने विद्यार्थीहरूले नाम दर्र्ता गराउन जान नपाउँदा आफूहरूको भविष्य नै अन्योलमा परेको विद्यार्थी रोशन दाहालले गुनासो गरे ।

अनिश्चितकालीन जिल्ला बन्दले सम्पूर्ण क्षेत्र प्रभावित बन्दासमेत बन्द खुलाउन सम्बन्धित पक्षहरूले कुनै चासो नदेखाउँदा जिल्लावासी पीडित बनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।