असार २ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका दोलखा मालीका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको शव स्वदेश ल्याइएको छैन ।
फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएका माली– ८ का लालबहादुर बस्नेतको शव अहिलेसम्म पनि ल्याउन नसकिएको हो ।
मृत्यु भएको तीन महिनासम्म पनि उनको शव नेपाल ल्याउन नसकिएपछि पीडितका परिवारजन चिन्तित बनेका छन् । मृतक युवकको शव झिकाउन सम्बन्धित मेनपावर, परराष्ट्र कन्सुलर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको मृतकका काका ज्ञानबहादुर बस्नेतले गुनासो गरे ।
मृतक बस्नेतको शव साउदीस्थित एक अस्पतालमा राखिएको र उनी कार्यरत कम्पनीले शव बुझ्न नमानेका कारण समस्या भएको बताइएको छ ।
विसं २०६९ वैशाखमा काठमाडौँस्थित नाइल इन्टरनेसनल ओभरसिजमार्फत साउदी अरब पुगेका बस्नेतको काम सुरु गरेको नौ महिना नपुग्दै दुर्घटनामा परीे मृत्यु भएको थियो । रासस








