असार २ । चितवनको भरतपुरस्थित हाकिमचोकमा आज बिहान भएको भीषण आगलागीमा करिब रु चार करोडको क्षति भएको छ ।

हाकिमचोकमा रहेको मञ्जुश्री प्लाइउड गोदाममा आगो लागेको प्रहरीले जनाएको छ । सञ्चालक नवराज लामिछानेले करिब रु चार करोडभन्दा बढी क्षति भएको दाबी गरेका छन् । यद्यपि, चितवन प्रहरीले भने क्षतिको विवरण सङ्कलन भैरहेको जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

विद्युत सर्ट भएर आज बिहान करिब ४ बजेदेखि सल्किएको आगो ७:३० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगो निभाउन भरतपुरको दुई दमकल पर्याप्त नभएपछि हेटौंडाबाट समेत दमकल ल्याइएको थियो । आगलागीका कारण सप्लायर्सका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको छ भने भवनसमेत डढेको छ ।

नजिकै पेट्रोलपम्प रहेकाले त्यहाँ आगो फैलनसक्ने भन्दै प्रहरीले सावधानीपूर्वक आगो निभाएको थियो ।

तीनवटा दमकलको सहायतामा स्थानीय, सेना र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रयास जारी राखेको स्थानीय राजु अधिकारीले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।