असार २ । नेपाल बन्दको उल्लंघन गरेर सवारी चलाएको भन्दै बन्दकर्ताले विभिन्न स्थानमा गरी ४ वटा सवारी साधनमा तोडफोड गरेका छन् ।

बन्दकर्ताले दाङमा आइतवार बिहानै एउटा यात्रुवाहक बस तथा दुई ट्रक तोडफोड गरेका छन् भने गोरखामा एउटा निजी कारमा तोडफोड गरेका छन् ।

आँबुखैरेनीबाट गोरखा सदरमुकाम आउँदै गरेको बा ५ च ८२३८ नम्बरको कारमाथि माओवादीका कार्यकर्ताले बन्दमा चलाएको भन्दै तोडफोड गरेको बताएका छन् ।

पूर्वबाट दाङतर्फ आउँदै गरेका लु १ ख ३२३८ नम्वरको बस र ना ४ ख ८२७३ नम्वरको ट्रकलाई बन्दकर्ताले घोराही लमही सडक खण्डको कटुवा खोला नजिकै तोडफोड गरेका छन्।

बन्दको जानकारी हुँदाहुँदै पनि वेवास्ता गरेर चलाएकाले तोडफोड गरेको बन्दकर्ताहरुले जनाएका छन् । बन्दकर्ताले घोराहीको मुख्य चोक तुलसीपुर चोकमा ना ४ ख ९८१६ नम्वरको अर्को ट्रकमा तोडफोड गरेका छन् ।

मंसिर ४ गते सरकारले घोषणा गरेको संविधान सभा चुनावको बिरोधमा नेकपा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धन, अशोक राइको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनअधिकार फोरमले आज नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा एम्बुलेन्स, प्रेस, खानेपानी लगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने निर्वाध रुपमा चल्न दिइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।