असार १ । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका प्राध्यापक मधुसुदन यादवले अग्निपीडितका लागि सङ्कलन गरिएको रकम आफ्नै निजी काममा खर्च गरेको रहस्य खुलेको छ ।
औरहीका अग्निपीडितलाई राहत उपलब्ध गराउन क्याम्पसमा कार्यरत सबै प्राध्यापकले एक दिनको तलब भत्ता सङ्कलन गरेर प्राध्यापक यादवको जिम्मा दिएका थिए । तर सङ्कलन भएको करिब ५० हजार रुपैयाँ आगलागी घटना भएको एक वर्ष बितिसक्दा पनि बैंकको खातामा जम्मा नगरिएको सोही क्याम्पसका प्राध्यापक सुरेन्द्रकुमार यादवले खुलासा गरेका हुन् ।
प्राध्यापक यादवले भने,— ‘आगलागी घटनाको एक वर्ष बित्यो तर अग्निपीडितको नाममा एनआइसी बैंकमा खोलिएको खाताको स्टेटमेन्ट हेर्दा रकम जम्मा गरिएको देखिएन ।’
प्राध्यापक यादवले पनि क्याम्पसमा सङ्कलन गरिएको रकम बैंकमा जम्मा गर्न नसकिएको स्वीकारेका छन् । उनले भने,— ‘केही कारणवश बैंकमा जम्मा गर्न सकिएन । अब छिट्टै जम्मा गरिदिन्छु ।’
औरही गाविसमा गत वर्ष जेठ २ गते भएको भीषण आगलागीमा ४६१ घरपरिवारको घरलगायत सबै समान जलेर नष्ट हुँदा करिब एक अर्बभन्दा बढीको क्षति भएको थियो । रासस