त्यस्तै आज बानेश्वरमा बसेको चार शक्तिको बैठक पनि बिना निष्कर्ष सकिएको छ ।
संविधानसभाको निर्वाचन सम्बन्धि विवादित कानुनका विषयमा सहमति जुटाउन बसेको बैठकमा कुनै सहमति नजुटेपछि बैठक भोलि पुनः बस्ने भन्दै सकिएको हो ।
दलहरुले आ-आफ्ना अडान छाड्न नसक्नु, दलहरुकै कारण निर्वाचन गराउन गठित सरकार पनि अलमलमा पर्नु तथा वर्तमान सरकारको नै ३३ दलद्धारा विरोध भईरहँदा देश भने झन् झन् अन्यौल, अराजकता तथा संक्रमणमा फस्दै गएको छ ।

दिनहुँ बस्ने चार दलको बैठकमा समेत दलहरु गम्भीर नहुने गरेको बताइन्छ । बैठकमा आफ्ना आफ्ना अडान दोहोर्याउने, एकले अर्कालाई घोचपेच गर्ने तथा कहिले भने रेला ठट्टा गरेर बैठक भोलि बस्ने भन्दै टुंग्याउने गरेको बताइएको छ ।
चार राजनीतिक शक्तिहरुका बीचमा थ्रेस होल्डका विषयमा विवाद रहँदै आएको छ भने नेकपा माओवादीसहित ३३ दलले भने वर्तमान सरकार विघटन नगरे चुनाव हुनै नदिने चेतावनी दिँदै आएका छन् ।







