जेठ १३ । मेगा बैंक लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले आगामी जेठ १९ गते देखि २२ गतेसम्म ६९ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको आज राजधानीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।

सर्वसाधारणका लागि कुल ३० प्रतिशत अर्थात् रु ६९ करोड ९० लाखबराबरको सेयर निष्कासन गर्न नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष प्राडा मदनराज दाहालले जानकारी दिए ।

जारी पुँजी कुल रु दुई अर्ब ३३ करोडमध्ये सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत सेयर प्रतिकित्ता रु १०० का दरले सर्वसाधारणले सकेजति वा चाहेजति सेयर खरिद गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।

विसं २०६७ साउन ७ गते स्थापना भएको सो बैंकले यस आर्थिक वर्षको तेस्रो त्रयमाससम्म रु १३ करोड मुनाफा आर्जन गरेको जनाएको छ ।

बैंकले साना तथा मझौला उद्योग व्यवसाय एवम् विपन्न वर्गतर्फको लगानीलाई बढाउँदै कर्जा जोखिमलाई समेत न्यून गर्दै आएको छ । हालसम्म बैंकले १२ अर्ब ८४ करोड निक्षेप सङ्कलन र ११ अर्ब ८७ करोड लगानी गरेको जनाएको छ ।

अधिकृत पुँजी रु चार अर्ब तथा जारी पुँजी रु दुई अर्ब ३३ करोड रहेको उक्त बैंकको ६३ जिल्लामा शाखा र एक हजार २१९ ग्राहक रहेको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।