जेठ १२ । केही दिनअघि खोसिएको आफ्नो ज्येष्ठ आरोहीको कीर्तिमान फर्काउने लक्ष्यका साथ सगरमाथा आरोही मीनबहादुर शेरचन आइतबार बिहान ३ बजे नै शिखरतर्फ हिँडेका छन् ।
मुख्य सहयोगी पेम्बा शेर्पा र चारजना सहयोगीसहित आज बिहान ३ बजे नै उठेर शेरचन सगरमाथाको शिखरतर्फ लागेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत वाङछु शेर्पाले जानकारी दिए । सम्पर्क अधिकृत शेर्पाको अनुसार ८२ वर्षीय शेरचन आज क्याम्प–१ मा बस्नेछन् । खर्च अभावमा सगरमाथा चढ्न नसकेर आधार शिविरमा नै बसेका शेरचनको रोयल्टी गत बिहीबार बसेको अन्तरिम मन्त्रिपरिषद्को बैठकले मिनाहासँगै १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
शेरचनको आरोहणको जिम्मा अल्पाइन एभरेस्ट गाइड्स नेपालले लिएको छ । शेरचन सगरमाथा आरोहण गरेको ६० वर्ष पूरा भएको दिन मे २९ मा सगरमाथाको शिखरमा पुग्ने लक्ष्यका साथ आज हिँडेको सम्पर्क अधिकृत शेर्पाले जानकारी दिएका छन् ।