पोल्याण्ड – विश्व मानचित्रमा नेपाल दक्षिण एसियामा रहेको सानो र हालसम्म गरिब मुलुक भनेर चिनिएको छ । वास्तवमा सानो मुलुक भए पनि राष्ट्रको विकाशको लागि प्रचुर सम्भावनाहरु भएको देश पनि नेपाल हो भनेर अन्तर्राष्ट्रिय समुदायले समेत भन्ने गर्दै आएको सत्यता लुकेको छैन ।

नेपाल र नेपालीको विकाश सम्भव छ तर हामी नेपालीले राष्ट्रिय भावनाबाट ओतप्रोत नहुने र देशप्रतिको मोहबाट ओझेलिने हो भने त्यो सम्भव पनि हुँदैन । किनकी एउटाले मात्रै देशलाई राम्रो र समृद्द बनाउन चाहँदैमा त्यो सम्भव हुँदैन । आम नेपालीले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर हातेमालो गर्दै अगाडि बढ्नु त्यसको लागि अपरिहार्यता हुन्छ ।

हाम्रो नेपाल अति विशिष्ट गौरव नै गौरवबाट शोभायमान छ । आफ्नो स्वाभिमान र देशमा भएका गौरवहरुको रक्षा, विकाश र जगेर्ना गर्नु हामीहरुको दायित्व हो । हामीहरुको परिचय भनेको बुद्धले जन्मेको देश र संसारको सर्वोच्च शिखर सगरमाथाको देश नेपालका नेपाली भनेर गर्ने गरिन्छ । तर हाम्रो गौरव बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु उपर भारतको पक्षबाट विभिन्न तरिकाबाट गरिँदै आएका दिग्भ्रम र दुष्प्रचारलाई चिरेर सत्यका पर्यायवाची गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै हो भन्ने शास्वत सत्यलाई विश्वब्यापी प्रचारको आवस्यकता महसुस गरेर विभिन्न देशमा फैलिएर रहेका नेपालीहरुले नागरिकस्तरबाट ०१ डिसेम्बर २००९ बाट सुरु गरेको लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले क्रमश: अग्रगति लिँदै गर्दा अति महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै बढिरहेको छ ।

तसर्थ, संसारभरका विदेशीहरुलाई बुद्द नेपालमा जन्मेका हुन भन्ने जानकारी दिनु आम नेपालीहरुको कर्तब्य पनि हो । यही कर्तव्यलाई आत्मवोध गर्दै लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान अघि बढिरहेको छ ।

यस सन्दर्भमा बलियो उदाहरणको लागि, ०१ डिसेम्बर २०११ मा काठमाडौंमा भएको लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले तेस्रो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीबाट पारित गरेको अन्तर्राष्ट्रिय न्यायालयमा बुद्दको प्रतिमा राख्ने प्रस्तावले स्वीकृति प्राप्त गर्नु यस अभियानको पछिल्लो अति महत्वपूर्ण उपलव्धि हो ।

अर्कोतर्फ, विभिन्न देशहरुमा यस अभियानको राष्ट्रिय समितिहरु गठन गर्ने प्रक्रियाले पनि निरन्तरता पाइरहेका छन् । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको सक्रिय पहलमा यहि २५५७ औं बुद्ध जयन्तीको अवसरमा एनआरएनए पोल्याण्डका सचिव तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव श्री मित्रलाल पार्देको राष्ट्रिय संयोजकत्वमा पछि अरु थप गर्ने सक्ने गरि हालको लागि ९ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति पोल्याण्ड गठन गरिएको छ ।

अन्य संयोजकहरुमा श्री कल्पना न्यौपाने, श्री गुरुदेव पौडेल, श्री कविन्द्र सुबेदी, श्री अनिल सापकोटा, श्री रामकृष्ण कडेल, श्री राजेश कार्की, श्री पुश्कर न्यौपाने र योना दुदास कार्की रहनु भएको छ । साथै डा. श्री वोधराज सुबेदीलाई राष्ट्रिय समिति पोल्याण्डको सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।