जेठ ९ । पूर्वसभासद् सदरुल मियाँ हकको हत्यारालाई कारबाही र मृतकलाई सहिद घोषणाको माग गर्दै नेपाल मुस्लिम समाजले सिरहाका सबै बजार बन्द गराएका छन् ।
सभासद् हकको हत्या भएको तीन दिन बितिसक्दा पनि प्रशासनले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोशित मुस्लिम समुदायका व्यक्तिहरूले लहान, गोलबजार, सिरहा सदरमुकाम, मिर्चैयालगायतका बजार बन्द गराएका छन् । सिरहामा बिहानैदेखि मोटरसाइकलबाहेकका सवारीसाधन चल्न दिएका छैनन् ।
मुस्लिम समुदायका युवाहरूले बिहानैदेखि सिरहाका बजारहरूमा प्रदर्शन जारी राखेका छन् । सभासद् हकको हत्यारालाई पक्राउ गरी कडा कारबाही र उनलाई सहिद घोषणा नगरेसम्म बन्द जारी राख्ने नेपाल मुस्लिम समाज सिरहाले जनाएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरूले लहानमा आधा दर्जन सवारीसाधनमा तोडफोड गरेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । बन्दका कारण राजमार्ग र सहायक राजमार्गहरू सुनसान देखिएका छन् । सिरहाका शिक्षण संस्था, कलकारखाना, यातायात र बजार पूर्ण रूपमा बन्द भएपछि जनजीवन प्रभावित बनेको छ ।







