काठमाडौँ, ९ जेठ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई प्रकृतिले धेरै चीज दिए पनि राजनीतिक अव्यवस्थाका कारण त्यस्ता थुप्रै स्रोत साधनको ठीक ढङ्गले परिचालन गर्न नसकिएको बताएका छन् ।
बुद्ध जयन्तीको अवसरमा अखिल नेपाल ललितकला सङ्घ नेवाः राज्य समितिद्वारा बौद्ध स्तुपास्थित बौद्व आर्ट ग्यालरीमा आयोजित शान्ति र सद्भाव कला प्रदर्शनीको आज उदघाट्न गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
“नेपाली जनतामा पहिचान, जागरण र हक अधिकारप्रति बढेको सचेततालाई अब बन्ने संविधानमा लिपिबद्ध गर्नुपर्ने आवश्यकता छ”– उनले बताए ।

उनले थाङ्काकला नेपालको पुरानो र मौलिक कलाका रूपमा रहेको भए पनि त्यसको संरक्षण एवम् विकासका लागि राज्यले आयोग बनाएरै विशेष ध्यान दिनुपर्ने र त्यसको लाग आफूले पार्टीका तर्फबाट पहल गर्ने वचन दिए ।
सो कार्यक्रममा अध्यक्ष दाहालले थाङ्काकलाको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएका कलाकारहरू सूर्यबहादुर दोङ, धावा वाङ्गेल लामा, चन्द्रबहादुर तामाङ र मोहन लामालाई सम्मान गरेका थिए ।







