जेठ ९ । मुस्लिम सङ्घ नेपालले अल्पसङ्ख्यक मुस्लिम समुदायका अग्रजहरूमाथि भइराखेका शृङ्खलाबद्ध हत्या रोक्न माग गरेको छ ।
सधैं असुरक्षाको वातावरणमा रहनुपर्ने मुस्लिम समुदायलाई सुरक्षाको प्रत्याभूत गर्न पनि सङ्घले सरकारसँग आग्रह गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका संयोजक तथा पूर्व सांसद सदरुल मियाँ हकको विभत्सरूपमा गरिएको हत्याप्रति सङ्घले घोर भत्र्सना समेत ग¥यो ।
“नेपाली मुस्लिमहरूमाथि पटकपटक सुनियोजित रूपमा हुने गरेका यस्ता घटनाले सिङ्गो मुस्लिम समुदायलाई शोकाकुल र मर्माहत तुल्याएको छ” – सङ्घका अध्यक्ष अब्दुल सत्तारले पत्रकार सम्मेलनमा भने ।
सङ्घले पूर्व सांसद मियाँको हत्याको तत्काल छानबिन गर्न गठित समिति विघटन गरी उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न, हत्यारालाई तत्काल पक्राउ गरी कानुनी कारबाही चलाउन, मियाँलाई सहिद घोषणा गर्न, उनको परिवारलाई उचित क्षतिपूर्ति दिई परिवारका सदस्यलाई उच्च शिक्षासम्म निःशुल्क र उपचारको व्यवस्था मिलाउनसमेत माग गरेको छ ।
पूर्व सांसद मियाँको यही जेठ सात गते सप्तरीस्थित कल्याणपुरमा हत्या गरिएको थियो ।
सङ्घको हालै सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले आगामी संविधानमा मुस्लिम समुदाय भनेर लेख्न, संविधानको मौलिक अधिकारमा मुस्लिम अधिकार उल्लेख गर्न र संवैधानिक मुस्लिम आयोग गठनको व्यवस्था गर्न समेत माग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
सङ्घका महासचिव रहमतुल्ला मियाँले कानुनअनुसार व्यवस्थित हज कमिटी गठन गर्न, मदरसा शिक्षालाई मान्यता दिन र मदरसाहरूमा सरकारी शिक्षकको व्यवस्था गर्न सम्मेलनले माग गरेको बताए ।
पत्रकार सम्मेलनमा मुस्लिमका धार्मिक तथा शैक्षिक स्थलहरूमा मस्जिद, मदरसा, इदगाहा, कब्रिस्तान, कर्वला, मजारहरूको संरक्षण गर्न पनि माग गरिएको थियो ।