जेठ ९ । दक्षिण–पश्चिम पाकिस्तानमा बिहीबार सुरक्षाबलको एक सवारीसाधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरको बाहिरी इलाकामा करिब एक सय किलोग्राम विस्फोटक पदार्थ बोकेको एक कारलाई सुरक्षाबलका सदस्य बोकेको एक ट्रकलाई लक्ष्यगरी उक्त विस्फोट गराइएको बताइएको छ ।

सो विस्फोटमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको र मारिनेमध्ये ११ जना वरिष्ठ प्रहरी अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

सो विस्फोटमा अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना सुरक्षाबलका सदस्य र पाँच सर्वसाधाण नागरिक रहेको पनि जनाइएको छ ।

बलुचिस्तान अफगानिस्तान र इरानको सीमा क्षेत्रमा पर्दछ । यहाँ तालिवान र इस्लामिक आतङ्ककारीहरूको बलियो प्रभाब रहेको बताइन्छ ।

यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन् । तर उक्त विस्फोटमा यसअघिजस्तै पाकिस्तानमा आतङ्क मच्चाउँदै आएको समूहकै सहभागिता रहेको अनुमान छ ।

बलुचिस्तान प्रान्तमा १० दिन अगाडि प्रान्तीय प्रहरी प्रमुखको घर बाहिर तालिवानले गराएको कार बम विस्फोटमा कम्तीमा छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका थिए । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।