जेठ ४ । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य उर्मिला अर्याल र अभिनेत्री रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिस्टहरुको एउटै केन्द्र बनाउने अभिभारा आजको पार्टी प्रवेशले सुरुआत गरेको बताए ।
“गुट–उपगुट र टुट–फुटले कम्युनिस्ट आन्दोलन सफल हुँदैन, सम्पूर्ण कम्युनिस्टहरु एउटै केन्द्रमा आउनुपर्ने इतिहास र राष्ट्रको आवश्यकता हो ।” पार्टी प्रवेश गराउने क्रममा उनले भने ।
उनले नेकपा एमालेलाई भावावेशमा नआई सहकार्य गरेर अगाडि बढ्न आग्रहसमेत गरे । प्रचण्डले भने,—“ हामीले सिङ्गो एमालेसँग एकता गर्न खोजेका हौँ, गएको संविधानसभा निर्वाचनमा पनि तालमेल गरेर जाऔँ भनेका थियौँ, तर उहाँहरुले मान्नुभएन ।
अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनकी नेत्री अर्याल र अभिनय क्षेत्रकी हस्ती थापाको एकैपटक पार्टी प्रवेशलाई अनौठो संयोगको संज्ञा दिँदै परिवर्तनलाई संस्थागत गर्न यो प्रवेशले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेत्री अर्यालले आफू विसं २०४६ मा एमाले प्रवेश गरे पनि आरोह अवरोह पार गर्दै फेरि पुरानै घर फर्किएको बताउँदै आफूलाई दिइएको जिम्मेवारी इमानदारीतापूर्वक निभाउने वचनबद्धता प्रकट गरे ।
यसैगरी, अभिनेत्री थापाले आफूले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिने काम मात्रै गर्दै आएकोमा अब राजनीतिमार्फत देश र जनताको सेवा गर्ने उद्देश्य लिएको बताए ।
कार्यक्रममा एमाले नारायणी अञ्चल कमिटी सदस्य पीताम्बर महतो थारु, प्राध्यापक श्यामसुन्दर शेर्पा, गणेशकुमार माझीलगायत एक दर्जन व्यक्ति एमाओवादीमा प्रवेश गरेका थिए ।