मिडियामा आएनुसार भन्ने हो भने साँच्चै नै छुट्टै, कचकचे, अनि कसै गरी पनि नमिल्ने टाइपको तर यथार्थमा पद र व्यक्तिगत स्वार्थभन्दा निक्कै माथि उठेर देश र जनताका खातिर सोच्ने नेता भित्र पर्छन मोहन वैद्य किरण ।

उनी कम्युनिष्ट भएकाले ध्वंसपछि विशाल देश विकास निर्माणको सपना समेत देख्न पछि हटेका छैनन् । उनी यस अर्थमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि छन् कि उनले पार्टी अध्यक्षको लागि मरिहत्ते गरेनन् । नेकपा माओवादी हुँदा उनले प्रचण्डलाई नेतृत्व हाँक्न दिए । त्यस्तै, पार्टी शान्तिपूर्ण राजनीतिमा आएसँगै संविधानसभाको सदस्य बने उनी । उनको नाममा पनि राज्यबाट भत्ता आउने भयो । तर उनले त्यो त्यागी दिए । कुर्सीका लागि नेताहरुले सिनो तानातान गरे बराबर गरे तर वैद्यले कहिल्यै वास्तै गरेनन् ।

तर अझै पनि उनले देखेको क्रान्तिको सपना पूरा नभएको भन्दै बुढेसकालमा पनि उनी देश र जनताकै लागि भनेर उकालो चिढी चढिरहेका छन् । यदाकता सुनिन्छ उनले क्रान्ति हाँक्ने त्यस्तो नेता खोजिरहेका छन् । जसलाई आफूले पछाडीबाट सहयोग गर्न परोस् उसैले क्रान्तिको झण्डा फरफराओस् । तर उनले अझै नभेटेर होला त्यो जिम्मा आफैँसँग राखेका छन् । अझ उनमा ठूलो त्रास ज्यूँदो छ । आफैँले विश्वासपात्र मानेको प्रचण्डले जस्तै अबको पात्रले धोका नदिओस् भनेर उनी निक्कै चलाखीपूर्ण तरिकाले नजिकबाट हेरिरहेका छन् । उनी हुन् नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण । उनैको बारेमा नयाँ पत्रिका दैनिकका लागि नेत्र पन्थीले २८ रहस्यहरु संकलन गरेका छन् जुन यस्ता छन्:

किरणका २८ रहस्य !

♦ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ सकेसम्म सञ्चारमाध्यममा आउनै मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा उनलाई नेपाली राजनीतिका ‘खरो’ नेताका रूपमा चित्रित गरिएको हुन्छ ।
♦  दर्शन र समालोचनाका झन्डै आधा दर्जन पुस्तक लेखिसकेका किरणको साहित्यिक उपनाम ‘चैतन्य’ हो ।
♦  उनी आफूलाई ‘कम्युनिस्ट आन्दोलनको बीचबाट आएको, समाजवादी/साम्यवादी क्रान्तिका लागि आफूसक्दो प्रयास गर्दै आएको तथा देश र जनताको मुक्तिका लागि क्रान्तिमा होमिन सधैँ दृढ रहने’ व्यक्ति मान्छन् ।
♦  उनको स्वभाव निर्माणमा आनुवंशिक र सामाजिक वातावरणको प्रभाव देखिन्छ । उनी भन्छन्, ‘ममा बुबाको अडान लिने बानी र दृढता तथा आमाको सहजता र सरलताको प्रभाव छ । त्यसैले म आवश्यक ठाउँमा सरल पनि छु र दृढ पनि । त्यस्तै, प्युठानको कम्युनिस्ट परिवेश र तत्कालीन समाजको सामन्तवादी शोषण-उत्पीडनले सामन्तवादविरुद्धको संघर्षमा लाग्न मलाई
प्रेरित गर्‍यो ।’
♦  किरणमा अध्ययन गर्न मन पराउने, चिन्तनमनन गरिरहने र एकान्तप्रेमी स्वभाव देखिन्छ ।
♦  सबल पक्षसँगै उनमा केही कमजोरी पनि छन् । आफ्ना कमजोरीबारे उनी भन्छन्, ‘एकान्तप्रेमी भएकै कारण सामाजिक व्यवहारमा सबैसँग घुलमिल हुन नसक्नु मेरो स्वभावको फितलो पक्ष हो भनेर भन्नुस । बहिर्मुखी स्वभाव अलि कम र अन्तर्मुखी स्वभाव अलि बढी भयो कि भन्ने लाग्छ ।’
♦ उनी दाबी गर्छन्- म कसैलाई पनि पूर्वाग्रही भएर हेर्दिनँ । त्यसको आधार दिँदै उनी भन्छन्, ‘कुनै पनि चिजलाई वैज्ञानिक विश्व दृष्टिकोणका आधारमा हेर्छु । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण र वस्तुगत तथ्यका आधारमा कुनै पनि चिजको मूल्यांकन गर्छु ।’
♦   मध्यमवर्गीय ब्राह्मण परिवारमा प्युठानमा जन्मेका किरण सामन्ती संस्कार र अन्धविश्वासप्रति सधैँ प्रश्न गर्थे । सानोमा अध्ययनशील र मिहिनेती पनि थिए । छरछिमेकमा सबैका प्यारो थिए । उनलाई केटाकेटीमै भौतिकवादप्रति रुचि बढेको थियो । उनी सम्झन्छन्, ‘कतिपटक मैले भूतप्रेत र भगवान् रहेनछन् भन्ने आफैँलाई परेको घटनाबाट थाहा पाएको छु ।’
♦   किरण रिसलाई प्रतिकूल अवस्थाको आवेग ठान्छन् । प्रतिकूल परिस्थिति सिर्जना हुँदा आफूलाई रिस उठ्ने उनी बताउँछन् । भन्छन्, ‘प्रकृतिले सिर्जना गरेका प्रतिकूल अवस्थामा म रिसाउँदिनँ । तर, कुनै मान्छे वा पात्रले प्रतिकूल अवस्था सिर्जना गर्न भूमिका खेल्दै छ भन्ने थाहा भयो भने रिस उठ्छ । शोषण, दमन, उत्पीडन गर्ने व्यक्तिप्रति पनि मलाई रिस उठ्छ ।’ प्रतिकूल घटनाबाट रिस नउठ्दा त्यो भावुकतामा बदलिने
उनी बताउँछन् ।
♦   एकान्तपे्रमी किरण उमेर बढ्दै गएपछि दिनमा एक/दुई घन्टा एकान्तमा बस्न रुचाउँछन् ।
♦   साहित्य पढ्दा उनमा संवेदनशीलता जागृत हुन्छ । आफ्नो योजनाअनुसार सफलता आइलाग्यो भने खुसी र
प्रफुल्ल हुन्छन् ।
♦  आफ्नो स्वभावमा हटाउन मन लागेको कुराबारे उनी भन्छन्, ‘आवेग र उत्तेजना कुनै-कुनै वेला आउँछ । त्यसको मात्रा घटाउन मन लाग्छ ।’
♦   उनलाई हार्डलाइनर भएको आरोप पनि छ । तर, यसलाई उनी दुष्प्रचार मान्छन् । त्यस्तो दुष्प्रचार आफूलाई कमजोर बनाउन गरिएको राजनीतिक आक्रमण हो भन्ने उनको बुझाइ छ । ‘उनीहरूले हार्डलाइनर र सफ्टलाइनरको नियोजित प्रचार गरेर मेरो चरित्रहत्या गर्न खोजेका हुन् । ती सबै पश्चगामीले जनतामा मेराविरुद्ध गरेका दुष्प्रचार मात्रै हुन्,’ उनी भन्छन् । 
♦   किरण राजनीतिमा माक्र्स, लेनिन, माओका साथै चे ग्वेभारालाई आदर्श ठान्छन् । चे क्युवाको क्रान्तिपछिको सरकारमा मन्त्री भएका वेला पनि पद त्यागेर फेरि क्रान्तिका लागि हिँडेका थिए । उनको त्याग र समर्पणभाव अनुकरणीय रहेको किरणको बुझाइ छ । उनी नेपाली राजनीतिमा पनि त्यस्तो पात्र खोज्छन्, तर त्यस्तो नपाउँदा उनका दिलमा चोट लाग्छ । उनी भन्छन्, ‘आदर्श त्यस्तो चिज रहेछ- त्यसैका लागि मान्छे मर्न तयार हुन्छ, त्यही आदर्शले मान्छे दीर्घजीवी हुन्छ ।’
♦   किरण बहिर्मुखी ढंगले प्रस्तुत हुनेलाई खासै मन पराउँदैनन् । प्रचारमुखी र बहिर्मुखी भएका देख्दा उनलाई वाक्क-दिक्क लाग्छ । उनी आफूलाई सन्तुलित भएको ठान्छन् ।
♦   परिवारलाई प्रेम, सद्भाव र पारस्परिक विश्वासले खुसी तुल्याउने उनी बताउँछन् । सम्पूर्ण परिवार राजनीति र क्रान्तिमा लागेकामा उनी खुसी छन् ।
♦   उनी सामान्य फुर्सदमा साथीहरूसँग भेटघाट-कुराकानी गर्छन् । अझ बढी फुर्सद मिलेमा लेखपढ गर्न रुचाउँछन् ।
♦  आर्थिक र पारिवारिक कारणले बाल्यकालमा उनले ठूला सपना देखेनन् । असल शिक्षक हुने सपना थियो उनको । स्कुल पढ्दै गर्दा ठूलो कवि हुने सपना थियो उनमा । त्यतिवेला देवकोटा, लेखनाथ, रिमालका कविता पढ्दा आफू पनि कवि हुन्छु भन्ने लागेको थियो उनलाई । १७/१८ वर्षको युवा भए पनि उनले क्रान्तिमा लाग्ने तथा देश र जनताको सेवक बन्ने सपना देखे । अहिले पनि उनको सपना त्यही हो ।
♦   उनलाई लाग्छ- जनयुद्धको प्रक्रियामा असल साथीहरूको हत्या भयो । त्यस्तो वेला उनी निकै दुःखी हुन्थे । सांस्कृतिक फाँटका कृष्ण सेन ‘इच्छुक’, पोलिट्ब्युरो सदस्य वासु, केन्द्रीय सदस्य रितबहादुर खड्काको मृत्युले उनलाई दुःखी तुल्याएको थियो । पार्टीमा एकता हुँदा तथा परिवार र साथीको सहयोगमा उनी निकै
खुसी हुन्थे ।
♦ किरणको जीवनको सबैभन्दा जटिल मोड थियो- कम्युनिस्ट पार्टीको पूर्णकालीन बन्ने कि नबन्ने भन्ने टुंगो गर्ने समय । ०२९ सालको तिरको कुरा थियो, त्यतिवेला उनी स्वर्गद्वारी क्याम्पसमा पढाउँथे । त्यसवेला उनी पार्टीमा आबद्ध भइसकेका थिए, तर पूर्णकालीन भने भइसकेका थिएनन् । त्यतिवेला उनी पूर्णकालीन नभएको भए आज एउटा मास्टर मात्रै हुन्थे कि ?
♦  उनलाई जीवनमा गरेको सही निर्णय भने जनयुद्धमा जाने सामूहिक निर्णय नै लाग्छ । ‘कतिपय कमजोरी रहे पनि मैले व्यक्तिगत रूपमा चौथो महाधिवेशनकालदेखि नै सही निर्णय गर्दै आएको छु,’ उनको दाबी छ । चौथो महाधिवेशनकालको फुटका घटना सम्झँदा आज पनि उनलाई नमीठो लाग्छ ।
♦   माओको ‘व्यवहारबारे र अन्तरविरोधबारे’ भन्ने पुस्तक उनलाई अत्यन्तै मन पर्ने पुस्तक हो । साहित्यमा देवकोटाको ‘मुनामदन’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, पारिजातको ‘अनिँदो पहाडसँगै’ र कृष्ण सेन ‘इच्छुक’को ‘बन्दी र चन्द्रागिरी’ राम्रा कृति हुन् भन्ने लाग्छ उनलाई । गोर्कीको ‘आमा’, अस्त्रोभस्कीको ‘अग्निदीक्षा’, चिङ माईको ‘ओयाङ हाइको गीत’ र ‘कुआङ पिन’ तथा यी येनको ‘रातो चट्टान’ उनलाई बढी मन परेका उपन्यास हुन् । माओको ‘व्यवहारबारे र अन्तरविरोधबारे’ पुस्तक उनले धेरैचोटि दोहोर्‍याएर पढेका छन् । उनलाई धेरै पहिलेदेखि नै उपन्यास लेख्न मन लागेको थियो । तर, समय दिन सकेका छैनन् । उनको रुचि भने समालोचना र राजनीतिक/दार्शनिक विधामा छ । ‘माक्र्सवादी दर्शन’ उनको पछिल्लो पुस्तक हो । लक्ष्मीप्रसाद देवकोटा, पारिजात, कृष्ण सेन ‘इच्छुक’, गोर्की र सेक्सपियर उनका मन पर्ने लेखक हुन् ।
♦   धेरै वर्ष पहिला बनारसमा फिल्म हेरका थिए उनले, त्यसपछि एउटा फिल्म पनि हेरेका छैनन् ।
♦   बच्चामा उनलाई फुटबल र भलिबल मन पथ्र्यो । अहिले चेस अलि बढी मन पर्छ ।
♦  जनवादी गीत किरणलाई बढी नै मन पर्छ । उनलाई मन परेको गीतिनाटक ‘सिम्मा’ हो । उनी भन्छन्, ‘त्यो गीतिनाटकले मलाई धेरै छोएको थियो ।’ रायन, रामेश, जेबी टुहुरे, खुसीराम पाखि्रन, माइला लामा र जीवन शर्मा उनका मन पर्ने
गायक हुन् ।
♦   सामान्य दाल, भात, तरकारी नै उनको दैनिक खाना हो । माछा अलि बढी मन पराउँछन् । टिमुर राखेको गोलभेँडाको चटनी र ढिँडो सबैभन्दा बढी मन पर्ने खाना हो उनको । गुन्द्रुक पनि उनलाई मन पर्छ । कृत्रिम ढंगले प्रस्तुत हुने र ढाँट्ने मान्छे उनलाई पटक्कै मन पर्दैन । सरल, सहज र आदर्शप्रति निष्ठावान् मान्छे उनलाई
मन पर्छ ।
♦  उनको धोको छ- नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादतिर पुग्ने । नेपाल र नेपालीलाई मुक्त भएको देख्ने । तर, उनको धोको अझै पूरा भएको छैन ।
♦  धेरै नेताहरूको एउटा थेगो हुन्छ । किरणको पनि छ । तर, मिडियामा धेरै नआउनाले जनस्तरमा उनको थेगो त्यति चर्चित छैन । मिडियाकर्मीमाझ भने उनको थेगो खुवै चर्चित भइरहेको छ । ‘भनेर भन्नुस’ उनले साधारणतयार वाक्यपिच्छे प्रयोग गर्ने धेगो हो ।

प्रस्तुति : नेत्र पन्थी
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।