बैशाख २६ । अन्तरिम चुनावी मन्त्रीपरिषदको आज बसेको बैठकले पनि निर्वाचनको मिति तोक्न सकेन ।

लोकमान प्रकरणका कारण विषयलाई डाईभर्ट गर्न सरकारले आज निर्वाचनको मिति तोक्ने सम्भावना रहेको भए पनि दलहरुबीच नै उच्च विवादका कारण सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन । आजको बैठकले निर्वाचनको मिति तोक्न शुक्रबार सर्वदलिय बैठक गर्ने निर्णय गरेको छ ।
सरकारले भोली गर्न लागिएको सर्बदलीय बैठकमा सहभागी हुन सबै दलहरुलाई आह्वान समेत गरेको छ ।

सरकारले सबै दलहरुलाई औपचारिक पत्र पठाएर छलफल गर्ने तयारी पनि गरेको छ । उच्चस्तरीय राजनीतिक समितिसँग अस्ती भएको छलफल अनुसार सरकारले तयारी अघि बढाएको हो ।

बैठकमा सहभागी हुने दलहरुलाई सकेसम्म चुनावका लागि सहमत गराउन प्रयत्न गर्ने र सहभागी नै नहुने दलहरुलाई पेलेरै जाने सरकारको तयारी रहेको स्रोतले जनाएको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले सरकार वा दलहरुले बोलाउने वार्तामा सहभागी नै नहुने निर्णय गरिसकेको छ । नेकपा माओवादी सहमतीमा आउने सम्भावना कम भएकाले त्यस बाहेकका दलहरुलाई सहमतीमा ल्याउन प्रयत्न गर्ने सरकारको तयारी छ ।

यस्तै आजको मन्त्रीपरिषद बैठकले सार्बजनिक खरिद पुनरावलोकन समिति सदस्यमा असुनाथ उप्रेती र लवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।

त्यस्तै, नेपाल स्वास्थ्य सेवा प्रमुख स्वास्थ्य शिक्षा प्रशिक्षकमा शुशीला शर्मालाई नियुक्त गरिएको छ ।

यसैगरी केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक शिशम मल्ललाई हटाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले विशिष्ट ब्यक्तिहरुको सुरक्षा ब्यवस्थापन सम्बन्धी कानुन बनाउने निर्णय पनि गरेको छ ।

बैठकले शशस्त्र द्धन्द्धको बेला सरकारलाई बुझाएका तथा हराएका हतियार मुआब्जा दिने सम्बन्धी निर्देशिका पनि स्विकृति गरेको छ । यसैगरी केही सहसचिबहरुको सरुवा पनि गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।