बैशाख २२ । सरकारले तय गरेको परिणामभन्दा कम परिणाममा पेट्रोलियम पदार्थ बेच्ने गरेको अनुगमनका क्रममा भेटिएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगनको क्रममा सो अवस्था देखिएको हो ।

विभागका निर्देशक हरिनारायण बेल्वासेले दिनुभएको जानकारी अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न पेट्रोल पम्पले नापभन्दा कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको र उपभोक्तालाई ठगी गरेको भेटिएको छ ।

कलङ्कीको मकालु आयल स्टोर्स, बाफलको मातादेवी आयल स्टोर्स र मैतिदेवीको मैतिदेवी पेट्रोलियम सप्लायर्सले नापमा देखिएभन्दा कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको जानकारी उनले दिए ।

ती पेट्रोल पम्पले डिस्प्ले प्वाइन्टमै गलत अङ्क देखाउने गरेको बेल्वासेकोे भनाई छ । विभागले गरेको अनुगमनको क्रममा ती पेट्रोल पम्पले डिस्प्ले प्वाइन्टमा नै पाँच लिटर पेट्रोलियम पदार्थ बेच्दा २० एमएलदेखि ४० एमएलसम्म कम हुने गरेको छ ।

अनुगमनपछि ती पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ नबेच्न कडाइका साथ निर्देशन दिइएको र निर्देशनलाई अटेर गरे कडा कारबाही गरिने जनाइएको छ ।

विभागका निर्देशक बेल्वासेले भने, “तत्काललाई हामीले ती पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएका छौँ, थप कारबाहीका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई आग्रह गरिएको छ ।”

नागरिकको तहबाट काठमाडौँका विभिन्न पेट्रोल पम्पमा कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको भन्ने जानकारी प्राप्त भएपछि अनुगमन गरिएको र अनुगमनको कामलाई अझै तिव्रता प्रदान गरिने विभागले जनाएको छ ।

सरकारले तय गरेको परिणामभन्दा कम परिणाममा कुनै पनि सरसामान बिक्री वितरण गर्नु गैरकानुनी काम भएको भन्दै विभागले आगामी दिनमा पनि अनुगमनलाई मुलुकभरी लैजाने तयारीमा रहेको बताएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।