बैशाख ८ – लोकगायिका सिर्जना बिरही थापा पक्राउ परेलगत्तै ढुकुटी कारोवारमा संलग्न कलाकारको भागाभाग सुरु भएको छ ।

लामो समयदेखि यसमा संलग्न करिब एक दर्जन कलाकारमा अहिले खैलाबैला मच्चिएको छ ।

कतिपय कलाकार करोडौं डुवाएपछि महिनौंदेखि सम्पर्कबिहीन छन् । यी कलाकारले आफुआफूमा र अन्य धनाढ्यहरुसँग ढुकुटी खेल्दै आएका थिए । ढुकुटी डुबेपछि कतिपयबीच भेटघाट र बोलचाल समेत बन्द छ ।

गायिका सिर्जना बिरही थापाले केही कलाकारलाई ढुकुटीको रकम तिर्न कागज गराएलगत्तै सुरु भएको भागाभाग उनी पक्राउ परेपछि झन् बढेको छ । लोक, आधुनिक गीतका म्यूजिक भिडियोमा अभिनय गर्ने र म्यूजिक कम्पनी चलाउनेलाई ढुकुटीले उठीवास लगाएको छ ।

थापाजस्तै याम क्षेत्री, कर्ण चापागाइँ, प्रज्ञा जोशी, करण न्यौपाने, रामजी खाँड धेरै ढुकुटी कारोवार गर्ने कलाकारमा पर्छन् ।

लोक, आधुनिक र म्यूजिक भिडियोबाट नाम र दाम कमाएका कर्ण चापागाइँ ढुकुटी डुवेपछि बेखवर छन् । काठमाडौमा घडेरी किन्न ठिक्क परेका चापागाइँ पनि सिर्जनासँगै ढुकुटी खेल्ने कलाकारमा पर्छन् । सिर्जनाले आफ्नो ४० लाख रुपैयाँ तिर्न बसुन्धराको एउटा पार्टी प्यालेसमा चापागाइँलाई कागज गराएपछि उनी सम्पर्कबाहिर छन् ।

ढुकुटी डुवेपछि प्रायःजसो कलाकारले आफ्नो मोवाइल नम्बर समेत फेरेका छन् । कतिपय यो पेशाबाट समेत अलग भइसके । ३० हजार देखि ३ करोड रुपैयाँसम्म ढुकुटी खेलेका कलाकार अहिले घर न घाटका भएका छन् । स्रोतका अनुसार सिर्जनाले मात्रै ढुकुटी कारोवारमा सवा दुई करोड रुपैयाँ डुवाएकी छन् । यो व्यवसाय गैरकानुनी भएकाले रकम डुबेकाहरु पनि उजुरी गर्न डराउँछन् ।

सिआरविटी चोरीमा मुछिएका लोकगायक याम क्षेत्रीलाई पनि ढुकुटीले डुबाएको छ । कलाकारिताबाट कमाएको दाम सकिएपछि क्षेत्री पनि अहिले पेशाबाट हराउँदै गएका छन् । उनी अहिले धेरैजसो पर्वत र पोखरामा बस्छन् । क्षेत्रीले पनि करिव ३ करोड रुपैयाँ डुवाएको श्रोत बताउँछ ।

पछिल्लो समयका चर्चित लोक गायक रामजी खाँडले गीत गाएर कमाएको करिव १५ लाख रुपैयाँ ढुकुटीमा डुवाएको श्रोतको दावी छ । घिन्ताङ म्यूजिक कम्पनीका सञ्चालक करण न्यौपाने ५० लाख डुवाएपछि विदेशतिर लागेका छन् ।

चलचित्र निर्मात्री प्रज्ञा जोशी पनि ढुकुटीमा परिचित नाम हो, पछि उनी पनि यसबाट पीडित भएकी छन् ।

ढुकुटी खेल्ने धेरै कलाकारको रकम गुटुमुट पारेर सरिता दिदी नामले परिचित सरिता डिजिटलकी सञ्चालिका फरार भएको करिव तीन बर्ष भयो । एक लाख भन्दा तल ढुकुटी खेलेर डुवेका कलाकारको संख्या झन् धेरै छ ।

कलाकारहरु ढुकुटीमा फसेको कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पनि थाहा छ । ‘धेरै प्रतिभावान कलाकार ढुकुटीले डुवेको थाहा पाएको छु’ प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने भन्छन् ‘कलाकार कलाकारै भएर बाँच्न पर्‍यो ।’ प्रतिष्ठानका साधारण सदस्यदेखि पूर्व पदाधिकारी ढुकुटीमा तानिएका छन् ।

कलाकारले ढुकुटी खेलेर लाखौं डुबाएपनि उनीहरुका लागि हार गुहार गर्न नसकिने अध्यक्ष न्यौपाने बताउँछन् । यस्ता कलाकारलाई आफ्नो हैसियत नबिर्सन र घाँटी हेरी हाड निल्न न्यौपाने सल्लाह दिन्छन् ।

झण्डै २५ जना कलाकार अहिले पनि ढुकुटीमा प्रत्यक्ष संलग्न छन् । कलाकारहरु प्रहरीको डरले रकम डुबेपनि चुपचाप बस्दै आएका छन् ।

सिर्जना बिरही थापा पक्राउ परेपछि भने प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी चक्रबहादुर सिंह ढुकुटीको नाममा नभइ चेक बाउन्स भएको भन्दै उजुरी आउने बताउँछन् । ‘कलाकारहरु ढुकुटीमा संलग्न छन् भन्ने सुनिन्छ तर सिर्जना बाहेक अरु फेला परेका छैनन्’ उनले भने । -साभारः उज्यालो अनलाइन

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।