बैशाख ८ – नेपाली बजारमा छापावाल सुनको मूल्यमा आइतबार प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।

साताको पहिलो दिन आज रु ५० हजार ५०० निर्धारण भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य गत शुक्रबार रु ५० हजार कायम भई कारोबार भएको थियो ।

अघिल्लो आइतबार प्रतितोला रु ५७ हजार ७०० मा कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटन गई त्यसको प्रभावले क्रमशः सोमबार घटेर रु ५२ हजार ५०० मा कारोबार भई मङ्गलबार पुनः घटेर रु ४९ हजार ५०० मा कारोबार भएको थियो ।

सो मूल्य बिहीबारसम्म स्थिर रही शुक्रबार प्रतितोला रु ५०० ले बढेको थियो ।

महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही वृद्धि भएका कारण शुक्रबारको तुलनामा आज मूल्य वृद्धि भएको बताउनुभयो ।

उहाँले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्धारण गरिने र त्यसैको आधारमा हुने घटबढको अनुपातमा नेपालमा पनि घट्बढ हुने गरेको भन्दै सुनको मूल्यमा अब सुधारको सङ्केत देखिएको बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको परिवर्तनले उपभोक्ताले मूल्य अझै घट्ने अनुमान गरी खरिद नगरेको र व्यवसायीले बढ्ने आशामा बिक्री नगरेका कारण अहिले बजारमा सुनको कारोबारमा कमी भएको अध्यक्ष शाक्यले जानकारी दिए ।

त्यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु ५०० ले बढेको छ । साताको अन्तिम दिन शुक्रबार ४९ हजार ७५० कायम भई कारोबार भएकोमा आज रु ५० हजार २५० मा कारोबार भएको छ । चाँदीको मूल्य भने स्थिर रही प्रतितोला रु ९०० मा कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।