बैशाख ७ – टीकाटालापछि फरार केटा पक्षले केटीलाई पाँच लाख दिएपछि झगडा सामसुम भएको छ ।

पूर्वी चितवनको रत्ननगरमा भएको विवाहसम्बन्धी विवाद केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमतिपछि टुङ्गिएको हो ।

टीकाटाला गरिसकेपछि केटाले बिहे गर्न नमानी फरार भएपछि केटीपक्षका आफन्तहरुले रत्ननगरमा सडक नै जाम गर्न पुग्दा विवाद सतहमा आएको थियो । त्यसपछि चितवन प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलमा केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमति भएपछि विवाद टुङ्गिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

रत्ननगर–३ बेल्सीका सुजन खनालले रत्ननगर–८ पर्सौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाहका लागि टीकाटालो गरेका थिए ।

विवाहको मिति आइपुग्दा केटाले बिहे गर्न नमानेपछि दुई दिनअघि त्यहाँ केटीपक्षले सडक बन्द गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।