नेपाली सेनाको नयाँ गोरख गण, फुलवारी व्यारेक, पोखरामा सोह्र लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा तल्लो तहका सैनिक कर्मचारीलाई सैनिक हिरासतमा राखिएको छ । भने आरोपितमध्येका नायक मानिएका गणपति प्र.से. शम्भु गुरुङ पूर्वसेनापति छत्रमानसिंह गुरुङका नातेदार भएका कारण हतारमा राजीनामा स्वीकृत गराई विदेश पलायन भएको समाचार छ। भ्रष्टाचार आरोपमा पूर्वगणपति प्र.से.प्रयाग राजभण्डारीलाई यु.एन.मिसनबाट फिर्ता बोलाई जंगी अड्डा मुनीको गणेशदल गणमा ‘लाइन एरेष्ट’ राखी अनुसन्धान भइरहेको थाहा भएको छ।

सुवेदार कर्मचारी कुलबहादुर थापा र जमदार कर्मचारी होमबहादुर इटनीलाई कागजात कीर्ते गरी रकम हिनामिना आरोपमा सैनिक प्रहरी गणमा राखेर छानबिन भैरहेको बताइन्छ। विकास निर्माण शीर्षक अन्तर्गत तत्कालीन स.र. बलदेवराज महतको कृपाबाट निकासा भएको ६० हजार यूएस डलर (कन्टिजेन्ट ओन इक्वीप्मेन्टबाट प्राप्त रकममध्येको लगभग रु.५० लाख) मध्ये १६ लाखभन्दा बढीको रकम गणपति र लेखा कर्मचारी मिलेर हिनामिना गरेको आरोप लागेको सैनिक सूत्र बताउँछ। रकम हिनामिना भएको अवधिका एक गणपति शम्भु गुरुङ शान्तिसेनाबाट स्वदेश फिर्ता हुनासाथ छत्रमानसिंह गुरुङ चीफ हुँदै हतारमा राजीनामा स्वीकृत गराई परिवार सहित अमेरिकातर्फ पलायन हुन सफल भएको थाहा भएको छ। समाचार अनुसार, गणपति गुरुङकी श्रीमती डीभी परेर अमेरिका नै बस्दै आएकी थिइन्। गुरुङपछिका गणपति प्रयाग राजभण्डारी सुडानमा पर्यवेक्षक खटिएका बेला यता रकम हिनामिना भएको खुलासा भई दुई सैनिक कर्मचारी तानिए। उनीहरुले राष्ट्रबैंकको नक्कली छाप बनाई रकम भ्रष्टाचार गरेका र सो मामलामा गणपतिहरु समेत संलग्न भएको आधार फेला परेको बताइन्छ। पूर्व सेनापति छत्रमानसिंह गुरुङका नाता पर्ने हुँदा रकम चप्काउने मध्येका शम्भु गुरुङलाई सोर्सफोर्सका आधारमा सुरक्षितसाथ विदेश भाग्ने मौका प्रदान गरियो भने निरीह सैनिक कर्मचारी र पर्यवेक्षणमा रहेका प्रमुख सेनानीमाथि हाल छानबिन भइरहेकोमा पीडितहरुका परिवारले गुनासो गरेका छन्। निर्माणका रकम र फाईलहरु खोतल्दै जाने हो भने हालका गणपति सगुन राणा पनि मुछिन सक्ने आशंका छानबिन टोलीको रहेको बताइन्छ।

उदेकलाग्दो कुरा के छ भने, अन्तर्गतमा त्यति धेरै रकम अनियमितता भएका बेलाका बाहिनीपतिहरु प्रभुराम शर्मा, शमशेर ठकुराठी, हालका बाहिनीपति स.र.गौरव तण्डुल अनि पृतनापतिमाथि कुनै किसिमको जिम्मेवारीविहीनताको आरोपमा अनुसन्धान एवं सोधपुछसम्मको कुनै कारबाही किन गरिएन भन्ने प्रश्न पनि उठेको छ। जसका कारण सेनामा जो होचो उसका मुखमा घोचो भन्ने उखान चरितार्थ भएको छ।

गमला बोकेर रथी टाप

चैत १० गते पोखरा पुगेका रथी नेपाल भूषणचन्दले पोखराको चर्चित रत्न मन्दिरमा सजाइएका राम्रा राम्रा गमला छानीछानी आफ्नो गाडीमा लोड गर्न लगाएर काठमाडौं लगेको विषय अहिले पोखराका सैनिक अधिकृतदेखि आर्मी हेडक्वार्टरसम्म चर्चाको विषय भएको छ। हिजो राजतन्त्रकालमा राजा–महाराजको भ्रमण मुकाम हुने गरेको रत्न मन्दिरका फूलका गमलाहरुमा समेत आर्मीका जर्नेलहरुको कुदृष्टि पर्न थालेपछि त्यहाँ रहेका अन्य महत्वपूर्ण बस्तुहरुको के हविगत भएको होला?
जर्नेलबाट हरिण पनि सखाप
आर्मीको संरक्षणमा रहेको चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु आर्मीकै जर्नेल, कर्णेलहरुबाट असुरक्षित मात्र होइन सखापै हुने गरेको कुरा निकुञ्जका कर्मचारीहरुको गुनासो सुनिन्छ। गत पुसको चिसो समयमा सौराहाको तातो मौसममा ध्रुबे हात्ती खोज्ने बाहनामा सौराहा पुगेका एकजना वरिष्ठ जर्नेलले ध्रुबेलाई नभेटेको झोंक निर्दोष हरिणमाथि फेरेर त्यसको इहलिला समाप्त पारी सुकुटीमा परिणत गरेर भोजन गरेको कुरा निकुञ्जको कर्मचारी सूत्र बताउँछ। यस अघि पनि आर्मीका जर्नेलहरु दिलीप राणा र सागरशमशेर हरिण हत्या काण्डमा परेर कारबाही समेत भोगेेका थिए। यसपटक हरिणको हत्या गरेर भोजन गर्ने ती वरिष्ठ जर्नेलको नाम र तिनको तीन पुस्तेको खोजीमा रहेका छन्। – स्रोत : विक्लीनेपाल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।