बैशाख ६ – नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।
गत मङ्गलबार प्रतितोला रु ४९ हजार ५०० मा कारोबार भएको सुन आज रु ५० हजार निर्धारण भई कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही वृद्धि भएका कारण मूल्य वृद्धि भएको बताए ।
उनले युरोपमा आएको आर्थिक मन्दी तथा अन्तर्राष्ट्रिय सट्टा बजार सञ्चालन गर्दै आएका विभिन्न संस्थाले मौज्दातमा राखेको सुन बजारमा चलायमान गराएका कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र सोही अनुपातमा नेपालमा पनि घट्न गएको भए पनि अब सुधारको सङ्केत देखिएको बताए ।
उपभोक्ताले सुनको मूल्य घट्ने अनुमान गरी खरिद नगरेको र व्यवसायीले बढ्ने आशामा बिक्री नगरेका कारण अहिले बजारमा सुनको कारोबारमा कमी भएको शाक्यले जानकारी दिए ।
त्यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु ५०० ले बढेको छ । मङ्गलबार रु ४९ हजार २५० मा कारोबार भएकामा साताको अन्तिम दिन आज ४९ हजार ७५० कायम भई कारोवबार भएको छ । चाँदीको मूल्य भने स्थिर रही प्रतितोला रु ९०० मा कारोबार भएको छ । रासस