२९ चैत – अपहरण गरी ज्यान मार्ने धम्की दिई रकम असुल गर्न खोज्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

व्यूरोका अनुसार काठमाडौँको इचङ्गुनारायणका छिरिङ फुन्जो लामालाई पटकपटक फोनमार्फत धम्की दिएको आरोपमा गोरखाका मिलन श्रेष्ठ, काभे्रपलान्चोकका रामचन्द्र थापा र नुवाकोटका कृष्णप्रसाद भण्डारीलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग काठमाडौँमा आज बुझाइएको हो ।

उनीहरुले लामालाई पटकपटक चिट्ठी पठाइ रु ५० लाख माग गरेको र सो रकम नदिए बम विस्फोट गर्ने, घरपरिवारका सदस्यलाई अपहरण गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै पक्राउ गरिएको व्यूरोले जानकारी दिएको छ ।

उनीहरुलाई यही चैत २७ गते काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज मात्रै महानगरीय प्रहरी प्रभाग काठमाडौँमा बुझाइएको छ ।

तीनै जनालाई मानव शरीर बन्धक तथा अपहरण उद्योगअन्र्तगत कारवाही चलाइने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।